detail-img

उपत्यका विशेष प्रदेश कमिटीद्वारा एकहजार २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको संयोजकत्वमा एकहजार २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 
पार्टीका पोलिटव्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्य र सह इन्चार्ज तथा केन्द्रीय सदस्य बीना श्रेष्ठको उपस्थितिमा अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा उपत्यका विशेष प्रदेश कमिटीको २०७९ असोज ३१ गते बसेको सातौं बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीमा विशेष प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू, मातहतका चार वटा विशेष जिल्ला कमिटीहरू (पेशागत, मजदुर, उद्योग व्यवसाय र युवा विद्यार्थी) का पदाधिकारी तथा सदस्यहरू, चारै वटा जिल्ला कमिटी मातहतका इलाका कमिटीका पदाधिकारी एवं सदस्यहरू रहने छन् । 
साथै उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी, कार्यालय टिमका सदस्यहरू र जिल्ला कमिटीका अध्यक्षहरू रहेको सचिवालय गठन गरिएको छ ।


उपत्यका विशेष प्रदेश कमिटी र मातहतका सम्पूर्ण पार्टी सदस्यहरू आफू बसोबास रहेको सम्बन्धित प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत रुपमा परिचालित हुनुपर्नेछ । यसका लागि भूगोल निर्वाचन परिचालन कमिटीसँग समन्वय गरी क्षेत्रको विशेषताको आधारमा आवश्यकता अनुसार सक्रियरूपमा परिचालित हुनुपर्नेछ ।
उपत्यका बाहिर मतदाता रहेका वा निर्वाचनका लागि जानेहरूले आधिकारिक पत्रसहित सम्बन्धित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा गई निर्वाचन कार्यमा सक्रिय सहभागी हुने निर्णय बैठकले गरेको छ ।  
बैठकले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार हुनुभएका प्रेमकुमार पराजुली, विदुर कार्की, कुलबहादुर आचार्य, प्रदेशसभा समानुपातिकतर्फ उम्मेदवार हुनुभएका उर्मिला सुनुवार,  युवराज जिरेल, नरनाथ लुइटेल र प्रत्यक्षतर्फ धादिङमा प्रदेश सभा सदस्य उम्मेदवार हनुुभएका गजेन्द्र थपलियालाई वैठकले विजयको शुभकामना व्यक्त गरेकोछ । साथै, उपत्यका विशेष प्रदेश कमिटीको कार्यको मूल्याङ्कन गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभामा पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेकोमा पार्टी केन्द्रीय कमिटीप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरिएको छ ।
बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुुजिता शाक्य र केन्द्रीय सदस्य तथा सहइन्चार्ज बीना श्रेष्ठले आगामी निर्वाचन देशको भविष्यसँग जोडिएको र देशको विकास र समृद्धिको पार्टीको गन्तव्यमा अगाडि बढ्नका लागि ज्यादै महत्वपूर्ण अवसर भएकाले पार्टीका सबै सदस्यहरू एकताबद्ध भई निर्वाचनमा खट्न आग्रह गर्नुभयो । 
बैठकले शताब्दी पुरुष सत्यमोहन जोशीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गरेको छ ।