झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि मुलुकमा एमालेको सरकार बन्ने बताउनु भएको छ ।
गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि एमालेलाई जनताले सरकारको नेतृत्वमा पुर्याउने बताउनुभयो ।
नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उहाँले सूर्य चिन्हमा मतदान गरेर एमालेको सरकार बनाउन सबै नेपालीलाई आह्वान गर्नुभयो ।
आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको र देशको विकास गर्न एमालेकै सरकार चाहिने अध्यक्ष ओलीले बताउनुभयो ।
एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र सङ्कटमा परेको उहाँले बताउनुभयो ।
अरूका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उहाँले बताउनुभयो । देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेका अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाली जनताले हिजो देखेका विकासका सपना आज विपनामा परिणत भएको धारणा राख्नुभयो ।
बिहीबार आफ्नै निर्वाचन क्षेत्रका झापा निर्वाचन क्षेत्र नं. ५ का कार्यकर्ताहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गर्नुभएको हो । ‘हिजो आमसभामा गाउँ– गाउँ जाँदा गाडीमा नै फरुवा, कोदालो सँगै लिएर जानुपर्ने अवस्था थियो । गाउँमा मात्र होइन, शहर बजार क्षेत्रमा समेत सडक, पुल लगायतका विकास पूर्वाधार थिएनन् । जहाँ गाडी फस्छ त्यहीँ उत्रिएर कादालोले माटो काटेर बाटो बनाउँदै हिड्नुपर्ने अवस्था थियो । राती आमसभा या भेटघाट गर्दा पेट्रोमेक्स बालेर उज्यालो बनाएर कार्यक्रम गर्नु पर्थ्यो ।’
विगतका चुनावको प्रचारलाई स्मरण गर्दै अध्यक्ष ओलीले अगाडि भन्नुभयो, अहिले देशैभरि विकासले फड्को मारेको छ ।’
आफ्नो नेतृत्वको सरकारका तीन बर्षमा विकास के हो भन्ने कुरा गाउँगाउँसम्म प्रमाणित हुने गरी पुगेको उहाँले बताउनुभयो । त्यति वेला यो ठाउँमा पक्की पुल, सडक निर्माण हाम्रो पालामा हुन्छ र ? भनेर सपना ठान्ने जनताका लागि अहिले विकास विपना भएको अध्यक्ष ओलीको भनाई थियो । उहाँले इच्छाशक्ति र अठोट भए देश बनाउन र विकास गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको अनुभव सुनाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– ‘नेकपा (एमाले) विचार, नीति र कार्यक्रम प्रष्ट भएको पार्टी हो । विकास योजना र कार्यक्रम कसरी अघि बढाउने भन्ने प्रतिवद्धता पत्र आगामी १५ गतेसम्ममा जनतासमक्ष ल्याइने छ ।’
उहाँले देशभर भूकम्पपीडितका सातलाख भन्दा बढी पक्की घर बनाएर जनतालाई सुरक्षित घरमा राख्न सफल भएको, हजारौं सरकारी भवन, सेनाको प्रधान कार्यालयदेखि लिएर ठूलाठूला संरचना निर्माण गरिएका, अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स समेत निर्माण गरिएको चर्चा गर्नुभयो ।
आफूले सरकारको नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढङ्गले देशमा विकासको लहर र तरङ्ग सिर्जना गरेको अध्यक्ष ओलीले बताउनुभयोे ।
बिजुली, टेलिफोन, पक्की बाटो, पक्की पुल जनताको सपना रहेको भन्दै उहाँले ती सबै सपना विपनामा परिणत भएको स्मरण गराउनुभयो । रतुवा–मावामा पुल, गाउँ–गाउँमा बाटा, विद्यालय भवन, क्याम्पस भवन, भ्यूटावर, कृषिको आधुनिकीकरण र नयाँ–नयाँ ढङ्गले विकासका काम अघि बढाइएको बताउनुभयो ।
अध्यक्ष ओलीले बिहीबार झापाको दमक नगरपालिका– ३ स्थित आमचौक र कमल गाउँपालिकाको केर्खा बजारमा भएका दुइवटा कार्यक्रममा कार्यकर्ता तथा स्थानीय बासिन्दालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओली आजै अपरान्ह काठमाडौं फर्कनु भएको छ ।
माओवादीका भण्डारी एमाले प्रवेश
यसैबीच नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज साँझ बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा पार्टीका उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि उपस्थित हुनुहुन्थ्यो ।