detail-img

‘मंसिर ४ पछि जेटविमानको गतिमा देशको विकास’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने निर्वाचनपछि एमालेले सरकार गठन गर्ने विश्वास व्यक्त गर्दै त्यसपछि देशको विकास जेट विमानको गतिमा अगाडि बढाइने वताउनुभएको छ ।  
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज राजधानीमा आयोजना गरेको वृहद अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने बताउनुभयो । 
मंसिर ४ गते जनताको महाअदालतले महाफैसला गर्ने र त्यो फैसला एमालेको पक्षमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘देशको विकास चाहने सबै जनजाति समुदायका साथीहरू सही फैसला गराउने अभियानमा लाग्नुस् ।’


उहाँले आफ्नो नेतृत्वमा बनेको सरकारले तीन वर्षमा देशलाई तुइनमुक्त बनाएको, हजारौँ किलोमिटर पक्की सडक, पक्की पुल, चारसयभन्दा बढी झोलुुङ्गे पुल बनाएको, सातलाख निजी आवास निर्माण गरिएको र विकासले गति लिएको चर्चा गर्दै अरूले २० बर्षमा नगरेको काम एमालेले तीनबर्षमा गरेको वताउनुभयो ।  
अध्यक्ष ओलीले गठबन्धन सरकार काम गर्नका लागि बनेको होइन भन्नुहुँदै गठबन्धन सरकार बनेपछि रोकिएको देश विकासलाई गति दिन एमालेको सरकार आवश्यक भएको बताउनुभयो ।
नेकपा (एमाले) अरूले जस्तो निर्वाचनको मुखमा ‘फ्रि भिसा फ्रि टिकट’ भनेर जनतालाई अल्मल्याउने नभई जनतालाई सचेत गराउने काममा लाग्ने वताउनुभयो ।  
जनजाति समुदायका सहभागीहरूले प्रत्यक्षरूपमा राखेका जिज्ञासाका बारेमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) जनजातिहरूकै पार्टी भएकाले जनजाति समुदायको हित र अधिकारका विषयमा पार्टीको धारणा के छ भन्ने प्रश्नै आवश्यक नभएको स्पष्ट गर्नुभयो । 
नेकपा (एमाले) को नीति सम्पूर्ण जनजाति समुदायको उत्थान र सबै सँस्कृतिको सम्मान हो भन्नुहुँदै अध्यक्ष ओलीले कार्यक्रममा सहभागी जनजाति समुदायलाई भन्नुभयो– ‘तपाईं हामी नै हौं एमाले, जनजातिका सम्बन्धमा एमालेले के गर्र्र्र्र्र्र्र्छ भन्ने होइन ।’
हाम्रो मुलुक भौगोलिक, जैविक, भाषिक, साँस्कृतिक विविधतायुक्त रहेको र सबै जातजातिका मानिसहरूले आर्थिक, सामाजिक, साँस्कृतिक सुरक्षा चाहेको चर्चा गर्दै अध्यक्ष ओलीले यो विविधता हाम्रो सम्पन्नता हो, यसमा हामीले गर्व गर्नुपर्छ भन्नुभयो ।  
उहाँले हरेकका पेशागत समस्या समाधान गरी सबैको उत्थान गरेर मात्र ‘समृद्ध नेपाल, सुखी नेपालीको अभियान’ साकार हुने स्पष्ट गर्नुभयो । 
सम्पूर्ण जाति, जनजाति, अल्पसङ्ख्यकलाई अगाडि नबढाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा नहुने चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेको नीति बहुसङ्ख्यालाई हेरे पुग्छ भन्ने होइन, देशमा एकजनाले पनि भोको बस्नुपर्ने अवस्था हुनुहुँदैन भन्ने हो । हामी संसारले देख्ने, बुझ्ने गरी आर्थिक विकास, साँस्कृतिक विकास, भौतिक पूर्वाधारको विकास गरी विकसित देश बनाउन चाहन्छौं ।’
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभामा आदिवासी जनजातिको जनसंख्या (३६ प्रतिशत) कै अनुपातमा उम्मेदवार उठाएको तथ्याङ्क प्रस्तुत गर्दै त्यसका लागि एमालेलाई धन्यवाद दिनुभयो । प्रतिनिधि सभामा यो प्रतिशत २७ रहेको र आगामी दिनमा वढाउनुपर्ने उहाँको सुझाव थियो । 
महासंघका अध्यक्ष एमालेका पोलिटव्यूरो सदस्य गोकुल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षद्वय पासाङ शेर्पा, राजकुमार लेखीले पनि बोल्नुभएको थियो । 
कार्यक्रमका सहभागीहरूले अध्यक्ष ओलीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली अभियान’ साकार पार्न जनजाति समुदायको कस्तो भूमिका अपेक्षा गर्नुभएको छ, समतामूलक समाज निर्माण गर्ने विषयमा एमालेको धारणा के छ, जनजाति समुदायलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच सुनिश्चित गर्ने योजना के छ लगायत जिज्ञासा राखेका थिए ।