एमाले आज

वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको छः महासचिव पोखरेल 

सेयर गर्नुहोस्

२२ साउन (२०८३), मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल रामेछापद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको महासचिव पोखरेलले बताउनुभयो । 
सरकारकै कार्यशैलीका कारण व्यवस्थाप्रति नागरिकमा वितृष्णा बढ्ने खतरा देखिएको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले भन्नुभयो– सरकारले कतै यो मुलुकलाई भड्खालोमा हाल्छ कि भन्ने चिन्ता छ, संविधान र लोकतन्त्रप्रति यसको चिन्ता नै देखिँदैन, काम र गतिविधिले लोकतन्त्रलाई वास्ता नगरेको पुष्टि गर्छ ।
सरकार जनजीविका, सुशासन, शिक्षा, स्वास्थ्य तथा आर्थिक व्यवस्थापनका क्षेत्रमा पनि असफल बताउँदै महासचिव पोखरेलले भन्नुभयो– सुकुमबासीलाई बिचल्ली बनाउने, शिक्षा, स्वास्थ्य र विद्युतमा कर बढाउने तथा प्रधानमन्त्री र मन्त्रीहरूले सुन भण्डारण गर्ने जस्ता घटनाले सरकारको चरित्र उदाङ्गो भएको छ ।
उहाँले गतबर्ष भदौ २४ को घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी ठहर गर्दै पक्राउ गर्ने सरकारले अहिले सुनसरी घटनामा प्रहरीमाथि दोष थोपरेर आफू उम्किन खोजेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रदेश सरकारविरुद्ध फैलाइएको धारणा वास्तवमा सङ्घीय शासन व्यवस्थाकै विपक्षमा रहेको र प्रदेश सरकारकै कारण राज्यको खर्च बढेको भन्ने तर्क तथ्यहीन र भ्रमपूर्ण रहेको बताउनुभयो । 
महासचिव पोखरेलले प्रदेश सरकारलाई कमजोर बनाउने प्रयास सङ्घीयताको मर्मविपरीत भएको उल्लेख गर्दै प्रदेशले तीन तहका सरकारमध्ये सबैभन्दा बढी पुँजीगत खर्च गर्ने सरकारको रूपमा काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार साधारण खर्च बढी गर्ने संरचनालाई अपरिहार्य ठान्ने तर विकास निर्माणमा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने प्रदेश सरकारलाई काम नलाग्ने भन्ने भाष्य निर्माण गर्नु उचित होइन । 
महासचिव पोखरेलले भन्नुभयो– सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च बढी गर्ने चाहिँ अपरिहार्य छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यो उचित होइन ।
सङ्घीय शासन व्यवस्थामा प्रदेश सरकार नै प्रमुख आधार रहेको उल्लेख गर्दै उहाँले प्रदेशको अस्तित्व नस्वीकार्ने हो भने सङ्घीयताको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– प्रदेश छैन भने सङ्घीयता नै छैन, सङ्घीयता ठीक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्वीकार गर्नैपर्छ ।
उहाँले नेपालको राजनीतिक अस्थिरताको सबैभन्दा बढी असर प्रदेश सरकारहरूले भोग्नुपरेको बताउँदै सरकार बारम्बार परिवर्तन हुँदा जनतामा निराशा बढेको धारणा व्यक्त गर्नुभयो ।
प्रदेश सरकारमा स्थायित्व कायम गर्न एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेको भए पनि कांग्रेसले गठबन्धन छाडेपछि अहिलेको अवस्था सिर्जना भएको महासचिव पोखरेलले प्रस्ट पार्नुभयो । 
नेपाली कांग्रेस नेतृत्वका प्रदेशमा एमालेका मन्त्रीहरूलाई हटाइएपछि राजनीतिक अस्थिरता बढेको बताउँदै एमाले अहिले पनि कांग्रेस र नेकपासहितको सहकार्यमा प्रदेश सरकार सञ्चालनकै पक्षमा रहेको भए पनि कांग्रेस त्यसमा सकारात्मक नभएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले एमालेको पुनर्गठन अभियान कुनै व्यक्ति विशेषका लागि नभई पार्टी, आन्दोलन र लोकतन्त्रको हितका लागि सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । 
पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई बलियो बनाउने र जनविश्वास पुनः स्थापित गर्ने उद्देश्यले शुद्धीकरण अभियान अघि बढाइएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो–लोकतन्त्र, मुलुक र संविधानको रक्षाका लागि दलहरू बलियो हुनुपर्छ । त्यसका लागि कार्यकर्ताको मनोबल बढाउने र जनतामा टुटेको विश्वास पुनः स्थापित गर्ने काम गर्नुपर्छ ।

हामीसँग जोडिनुहोस्