detail-img

नेपालीको औसत प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डलर पुर्याइने

काठमाडौं । नेकपा (एमाले) ले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, आर्थिक स्थायित्व कायम गर्ने र आर्थिक सफलताको न्यायोचित हिस्सेदारी सुनिश्चित गरी समतामूलक न्यायपूर्ण समाजको सुदृढ आधार तयार गरी नेपाली अर्थव्यवस्थालाई समाजवादउन्मुख बनाउने योजना अगाडि सारेको  छ । 
आगामी निर्वाचनका लागि पार्टीको तयार गरेको निर्वाचन घोषणापत्रमा यस प्रक्रियामा समाजका सबै वर्ग र तप्काका समूहको सहभागिता गराई ‘विकासको समावेशी मोडेल’को कार्यान्वयन गरिने जनाएको छ । 
प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अङ्कमा पुर्याइनेछ । नेपाली अर्थतन्त्रलाई विश्वको उदीयमान अर्थतन्त्र बनाइने छ ।
हालको करिव ४८ खर्ब रुपियाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब रुपियाँ पुर्याइनेछ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी २ हजार ४ सय अमेरिकी डलर पुर्याइनेछ ।
कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गरिने छ ।
सार्वजनिक, सहकारी, निजी लगायतका सबै माध्यमबाट आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन वृद्धि गरिने छ । राष्ट्रिय बचत वृद्धि गरी लगानीको दायरा विस्तार गर्ने र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र निर्माण गरिने छ ।
निजीक्षेत्रलाई उत्पादन, उद्योग र सेवा क्षेत्रमा व्यापक लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने भूमिकामा प्रोत्साहित गरिने छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उद्यमशीलता विकासमा सहकारी क्षेत्रलाई परिचालन गरिने छ । आम नेपालीलाई उपलब्ध गराउनुपर्ने स्वास्थ्य, शिक्षा, सुरक्षा, सामाजिक संरक्षण, ठूला पूर्वाधार निर्माणलगायतका क्षेत्रमा प्राथमिकताका साथ राज्यको लगानी केन्द्रित गरिने छ । 
प्राकृतिक स्रोत, साधन, पुँजी, जनशक्ति र प्रविधिको पूर्ण परिचालन गरी कुल गार्हस्थ्य उत्पादन बढाउने राष्ट्रिय अभियानमा सातै प्रदेश र सबै स्थानीय तहको उत्साहजनक सहभागिता सुनिश्चित गरिने छ । कुल गार्हस्थ उत्पादनमा प्रदेशहरूको योगदानमा रहेको असन्तुलन घटाउने नीति अबलम्बन गरिने छ ।