detail-img

प्यूठानको समग्र विकासको नेतृत्व लिने प्रतिबद्धता 

प्यूठान । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्यूठानमा प्रतिनिधिसभा सदस्यका  उम्मेदवार सूर्य थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि  आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउन मतदातालाई आग्रह गर्नुभएको छ । 
आगामी मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा प्यूठानमा नेकपा (एमाले) का उम्मेदवारहरुको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्नुहुँदै नेता थापाले सो आग्रह गर्नुभएको हो । 
‘देशको आर्थिक र पूर्वाधार विकासको क्षेत्रमा नीति, कार्यक्रम र योजना निर्माणको लागि प्रतिनिधि सभा र प्रदेश सभामा हाम्रो प्रभावकारी पहलकदमी रहनेछ’ प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । 
प्रतिबद्धतापत्रमा आफूहरु निर्वाचित भएमा प्यूठानको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको नेतृत्व लिने जनाइएको छ । 
पर्याप्त सम्भावना रहेको प्यूठान, एमालेको नेतृत्वमा शुरुवात गरिएका केही विकास निर्माणका योजनाबाहेक यसअघि जिल्लामा विकासको काम हुन नसकेको जनाउँदै जिल्लाको समग्र विकासका लागि प्रदेश तथा संघीय सरकारमा पहुँच अभिबृद्धि गरी तीब्र विकासको थालनी गरिने उहाँको प्रतिवद्धता छ ।
प्रतिबद्धतापत्रमा विकास निर्माणका विभिन्न कामहरु प्राथमिकताका साथ गर्ने कुरामा जोड दिइएको छ । रणनीतिक महत्वका सडकहरु निर्माणको काम सम्पन्न गरी प्यूठानलाई छिमेकी जिल्लाहरु तथा राजमार्गसँग जोडिने छ । अर्घाखाँची सन्धिखर्क–गोखुङ्गा–मर्कावाङ–खरिवोट–तिराम–दाङ्ग (मदन भण्डारी राजमार्ग), सिमलटारी–पुर्काेटदह–सौतामारे–मच्छी–स्वर्गद्वारी–रोल्पा (मदन भण्डारी राजमार्ग), अर्घाखाँची–जोगिटारी–चुँजाठाँटी–खलङ्गा–बिजुवार–दाखाक्वाडी–बर्जिवाङ–भिंग्री–स्वर्गद्वारी–रोल्पा (६७ किमी), (जीवराज आश्रित कृष्ण सेन इच्छुक मार्ग) खण्डको निर्माण कार्य द्रुतगतिमा अघि बढाई सम्पन्न गरिने छ ।  
बाग्दुला–ठूलावेसी–भिमगिठे, वाहाने–वालीपुङ–मुलघाट–स्याउलीवाङ–ढोरपाटन सडक निर्माणलाई प्राथमिकता दिने, भालुवाङ्ग–प्यूठान सडकलाई स्तरोन्नति गरी दूई लेनमा विस्तार गर्ने,  अर्खा–रजवारा जोड्ने गरी जिल्लाकै सबभन्दा लामो झोलुङ्गे (४११ मिटर) पुल (अध्ययन भइसकेको) निर्माण गरी गौमुखीमा पर्यटकीय आकर्षण अभिबृद्धि गर्ने कुरालाई प्राथमिकता दिइएको छ । 
त्यस्तै, हालसम्म केन्द्रीय प्रशारण लाइनबाट विद्युतको पहुँच बाहिर रहेका स्याउलीबाङ, काफलबुटा, काइया, एकराते, रुझिम, र्कुिर्तवाङ, स्याउले, खबाङ, रजवारा, अर्खा, पूजा, लिवाङलगायतका वस्तीमा विद्युत बिस्तार गरी सबै घरधुरीसम्म विद्युतको सहज पहुँच स्थापित गरिने छ । 
निर्माणाधीन सवस्टेशन व्यवस्थित रुपमा सञ्चालन गरी सुरक्षित र नियमित विद्युत आपूर्ति सुनिश्चित गरिने छ । 
प्रसिद्ध धार्मिक स्थल एवं तपोभूमि स्वर्गद्वारीको व्यवस्थित र योजनाबद्ध भौतिक पूर्वाधार विकास गरी रोजगारी, स्वरोजगार र प्रयाप्त आम्दानी गर्न सकिने आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उहाँको प्रतिवद्धतापत्रमा चर्चा गरिएको छ । पर्यटकीय गन्तव्यहरु गौमुखी, मल्लरानी, ऐरावती लगायतका क्षेत्रमा पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।
त्यस्तै, स्वर्गद्वारी–गौमुखी पर्यटन पदमार्गलाई पूर्णता दिने नेता थापाले बताउनुभयो । मल्लरानी, झुलेनी–लिस्ने भञ्ज्याङ र जसपुर–बड्डाँडा–हंसपुरमा हिलस्टेशन पर्यटन पूर्वाधार विकास गरिने छ ।  साहसिक पर्यटन, जल पर्यटन, प्याराग्लाइडिङ लगायतका पर्यटनका सम्भावनाको खोजी गरी थालनी गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 
एमाले नेतृत्वको सरकारले शुरु गरेको ‘एक घर, एक धारा’ को कार्यक्रम कार्यान्वयन गर्ने, लिफ्ट खानेपानीको विद्युत महशुलमा छुट गर्ने, निर्माणाधीन योजना सम्पन्न गर्ने तथा पुराना योजना पुनर्निर्माण र नयाँ योजनाको विस्तृत अध्ययनपछि कार्यान्वयन गर्ने कुरामा प्रतिवद्धता जनाइएको छ । 
प्यूठान अस्पताललाई पूर्वाधारयुक्त बनाउँदै विशेषज्ञसहितको गुणस्तरीय सेवा उपलब्ध हुने अस्पतालको रुपमा विकास गरिने छ । त्यस्तै, एमाले नेतृत्वको सरकारले शुरु गरेको जिल्लाका सवै स्थानीय तहमा निमार्णाधीन १५ शै्याका अस्पतालहरुको निर्माण पूरा गरी सेवा सञ्चालन गरिने छ ।
नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको अध्ययन, लगतकट्टा र मुआब्जाको कार्य प्रक्रिया अगाडि बढिरहेकाले निर्माण कार्य सुरु गर्नमा जोड दिइने छ । स्वर्गद्वारी विमानस्थल चाल्नेटारको जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण अघि बढ्न नसकेकाले आवश्यक वजेट व्यवस्था गरी निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।  
त्यस्तै, जिल्लाभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतापत्रमा राखिएको छ । देशभित्र र देशबाहिर आवश्यक दक्ष एवं सीपयुक्त जनशक्ति तयार गरिने, जिल्लाका सबै शैक्षिक संस्थामा अंग्रेजी माध्यम र  कम्प्युटर शिक्षा, इन्टरनेट जडानसहित व्यवस्थित भौतिक पूर्वाधार, स्वच्छ शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा विकासका लागि आवश्यक ब्यवस्था मिलाइने छ । 
जिल्लाको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई व्यावसायिक बनाउन विशेष पहल गर्ने उहाँको प्रतिवद्धता छ । साथै, कृषिजन्य उपजमा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात गर्ने वातावरण बनाउन अगुवाई गर्ने उहाँले बताउनुभयो । पशुपालनलाई व्यावसायिकरण गरी आयातलाई प्रतिस्थापना गर्नमा जोड दिइने छ ।  
जिल्लाका पर्यटकीय गन्तब्यहरु बंगलाचुली, झुलेनी, मल्लरानी, झाँक्रीस्थान, चिल्ड्रेन पार्क भिंग्री, भू–बनोट–सारी, सहिद स्मृतिपार्क, लिस्ने भञ्ज्याङ, दहियाल्ना, गढी दरवार, किमिचौर दह, सिद्धलेख, कोटवराह दह, कोठीभिर, तामाखानी, झाँक्रीढुङ्गा, रानीवन दह–रजवारा, पालुकाथान–चुँजाठाँटी लगायतका क्षेत्रहरुको योजनाबद्ध पूर्वाधार विकास एवं प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।  
त्यस्तै, जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक कोटहरु उदयपुरकोट, भित्रीकोट, ओखरकोट, बिजुलीकोट, बरौंलाकोट, इस्नाकोट, तुसाराकोट, बेलवासकोट, सारीकोट, हंसपुर खड्कदेवी कोटघर लगायतका कोटको पूर्वाधार विकासगरी अध्ययन स्थल एवं धार्मिक गन्तव्यका रुपमा प्रवद्र्धन गरिने छ ।  
झिमरुक र माडी करिडोेर अन्तर्गतका क्षेत्रहरु समेटी वस्ती विकासको योजना बनाएर ती क्षेत्रमा आधुनिक एवम् व्यवस्थित बस्ती विकास गर्ने प्रतिवद्धता छ । प्रदेश राजधानी राप्ती उपत्यकासँग जोडिएको बाङ्गेसाल क्षेत्रलाई बृहद् राजधानी क्षेत्रको गुरुयोजनामा समावेश गरी शहरी विकासमा जोड दिइने छ ।
सबै स्थानीय तहका केन्द्रसम्म पुग्ने पहुँचमार्गलाई कालोपत्रे गर्ने, जिल्लाका ६४ वटै वडाको केन्द्र पुग्नेगरी सडकको स्तरबृद्धि गरी बाह्रै महिना सुचारु हुने व्यवस्थित सडकका रुपमा विकास गरिने छ । 
कुटिचौर–खरिवोट–दहखोला–लेक–अग्लावाज–पोखरी–लाकुरीबगर–गर्तङफेदी–बाँदीकोट–तुसारा–हिडडाँडा–दोमै निर्माण गर्ने र सौतामारे चक्रपथ निर्माण गर्ने प्रतिबद्धता छ ।  
त्यस्तै, जिल्लाभित्रका माडी, झिमरुक, लुङखोला, अरङ्गखोला, गर्तङखोला, दरभान र गनाहा खोला लगायतका साना–ठूला नदी कटानलाई बजेट व्यवस्था गरी सुरक्षित गरिने प्रतिवद्धता छ । जिल्लामा अधिकतम क्षमताको व्यवस्थित र बहुउद्देश्यीय सभागृह निर्माण गर्ने, मुख्य व्यापारिक केन्द्र बाग्दुला र विजुवारको ढल निकास सहितको भित्री बाटो पक्की बनाउने प्रतिवद्धता छ ।
सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिँदै खरको छाना विस्थापित गर्ने अभियानलाई पूर्णता दिइने छ । एमाले नेतृत्वको सरकार बनेमा लैङ्गिक हिंसा, घरेलु हिंसा र असमानताविरुद्ध तथा बाल अधिकार संरक्षणको जिल्लास्तरीय रणनीति बनाई कार्यान्वयन गरिने जनाइएको छ । जेष्ठ नागरिक आवास तथा मिलन केन्द्र, वैकल्पिक हेरचाह केन्द्र, संरक्षक तथा अभिभावकविहीन बालवालिका, सडक व्यक्तिलगायत सहाराविहीन व्यक्तिहरुका लागि जिल्ला स्तरमा संरक्षण केन्द्र स्थापना गरिने छ ।   
प्यूठानमा प्रतिनिधिसभा सदस्यमा नेता थापा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (२) मा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिप्रसाद रिजाल, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (१) मा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा उम्मेदवार रहनुभएको छ । उहाँहरु संयुक्तरुपमा प्रतिवद्धतापत्र मार्फत सहयोगको अपिल गर्नुभएको छ ।