detail-img

ललितपुर महानगर क्षेत्रलाई ‘पर्यटकीय गन्तव्य’ बनाइने 

महालक्ष्मीमा पूर्वाधार विकास योजना  
ललितपुर ।  ललितपुर महानगरपालिका क्षेत्रलाई ‘पर्यटकीय गन्तव्य’ का रुपमा विकास गर्ने र महालक्ष्मी नगरपालिकामा पूर्वाधारको विकास गर्ने योजना नेकपा (एमाले) का ललितपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम महर्जनको रहेको छ ।
राजनीतिकसँगै सामाजिक, सांस्कृतिक र भाषिक क्षेत्रमा सक्रिय उहाँ विभिन्न भूमिकामा रहँदा यस क्षेत्रको समस्याका बारेमा जानकार हुनुहुन्छ र समाधानका लागि विभिन्न योजना बनाएर क्षेत्र नं. २ का नागरिकको घरघरमा पुगिरहनुभएको छ । 
मङ्गलबजार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ र अझै व्यवस्थित ढङ्गबाट विकास गर्नुपर्ने उम्मेदवार महर्जनको धारणा रहेको छ । मङ्गलबजारमा पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिमा सूचिकृत रहेको छ । यहाँ लिच्छिवीकालीन र मल्लकालीन धेरै ऐतिहासिक धरोहर, मन्दिर, दरबार, पाटीपौवा र ढुङ्गेधारा रहेकामा तीनलाई जगेर्ना गर्नु  प्रमुख दायित्व रहेको उहाँको धारणा छ । त्यस क्षेत्रमा योजनाबद्ध विकासको योजना उहाँले मतदातालाई सुनाउँदै आउनुभएको छ । 
सिद्धिपुर, लुभुलगायतका शहरहरुमा छरिएर रहेका सम्पदा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको महर्जनको धारणा छ । अमूर्त संस्कृतिका रुपमा रहेको रीतिरिवाज, संस्कार, संस्कृतिले नेपाललाई विदेशसम्म चिनाएको छ । बाजागाजा र ऐतिहासिक नाच, गीत पनि संरक्षणका लागि लाग्ने उहाँले बताउनुभयो ।  
ललितपुर महानगरपालिका भौगोलिक रुपमा सुगम भए पनि  पूर्वी भेगमा रहेको तामाङ बस्तीले सुगमता भोग्न पाएको छैन । यहाँ पर्याप्त मात्रामा पूर्वाधारको विकास भइसकेको छैन । जनता दुःख र पीडालाई सम्बोधन गर्दै यस ठाउँलाई समृद्ध बनाउन पूर्वाधार निर्माणमा जोड दिइने उहाँले बताउनुभयो । लामाटारदेखि मानेदोभानसम्म जाने सडक कालोपत्र गरेर यहाँ नियमित सवारीसाधन चल्दा मात्रै नागरिकको जीवन सहज हुनसक्छ । उहाँले भन्नुभयो, “यसले गर्दा लाँकुरीभञ्ज्याङको विकासमा सहयोग पुग्छ र नागरिकको जीवन सजिलो हुनसक्छ ।” 
यस क्षेत्रको शिक्षा र स्वास्थ्यको विकासलाई अघि बढाउने उहाँको योजना रहेको छ । नयाँ पुस्तामा पनि हस्तकलाको सीप हस्तान्तरणका लागि योजना बनाइने उहाँले बताउनुभयो । 
शालिन र निष्ठावान व्यक्ति, आफूले जिम्मेवारी लिएपछि पूरा  गरेर देखाउने व्यक्तिका रुपमा यस क्षेत्रका नागरिकले महर्जनलाई चिन्ने गरेका छन् । झण्डै चार दशक पहिलेदेखि राजनीतिमा सक्रिय उहाँ हाल पार्टीको बागमती प्रदेश सदस्य र ललितपुर–२ का इञ्चार्ज हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट यस क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ दुई पटक पार्टीको क्षेत्रीय अध्यक्ष हुनुभयो । स्थानीय निर्वाचनमा दुई पटक बिजयी भएर उहाँले यस क्षेत्रका नागरिकको मन जितिसक्नुभएको छ ।
महर्जनले ग्रामीण विकासमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँ राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ज्यापु समाज यलको अध्यक्ष भइसक्नुभएका उहाँ हाल टोल सुधार समिति गुइटोलका अध्यक्ष हुनुहुन्छ ।