detail-img

एमाले ललितपुर–३ को प्रतिबद्धतापत्र–‘हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदा सहर’ 

ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)  ललितपुर क्षेत्र नं. ३ को प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । 
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सह इन्चार्ज एवं केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्का, प्रदेश सभा सदस्यका उम्मेदवारहरु क्षेत्र नं. ३ (१) का रघुनाथ महर्जन र ३(२) का प्रेमभक्त महर्जन लगायतले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको थियो । 
प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर’ भन्ने अभिलाषा उल्लेख छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासको रेखाङ्कन गरिएको छ । 
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जिल्ला इन्चार्ज सुशीला नेपालले एमालेका उम्मेदवारहरु विजयी भएपछिका पाँचबर्षमा प्रतिबद्धतापत्र कार्यान्वयन हुने बताउनुभयो । 
प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमृत खड्काले ललितपुर निर्वाचन क्षेत्र नं. ३ का जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको वताउनुभयो ।
१६ वटा बँुदा समावेश गरिएको प्रतिबद्धतापत्रमा नीति निर्माणको प्रक्रियामा नागरिकका विचार र दृष्टिकोणलाई समेट्ने उद्देश्यले नियमित रुपमा नागरिक सम्वादको आयोजना गरी जनताका भनाई, विचार र सुझावलाई नीति निर्माणको थलोसम्म पुर्याइने, जनताको अभिमत पूरा गर्न आवश्यक ऐन, कानुन, नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न प्रभावकारी भूमिका निर्वाह गरिने, पुरातात्विक तथा ऐतिहासिक सम्पदा रहेका बस्तीहरुको अस्तित्व जोगाउन भवन निर्माण संहितालाई परिमार्जन गरी कार्यान्वयन गरिने, नख्खुखोला किनारमा सडक करिडोर निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने,  घना तथा जोखिमयुक्त सहरी वस्तीहरु स्थानान्तरण रोक्न नयाँ ढाँचाका बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयन गर्ने, कृषिमा आधारित उद्योग स्थापना र बजार व्यवस्थापन गर्न कृषि सहकारी, निजी एवं स्थानीय तहसँग समन्वय गरी व्यावसायिक कृषिमुखी अनुदान, तालिम, प्राबिधिक सहयोग र बजार व्यवस्थापन गर्न पहल गर्ने, कृषिमा आत्मनिर्भरको लागि उन्नत बीउ, उपकरण, प्रबिधि र मल सहज उपलब्ध गराउन आवश्यक पहल गर्ने विषय उल्लेख छ । 
विज्ञको राय सुझाव र स्थानीयका समस्या पहिचान गरी तयार गरिएको प्रतिबद्धतापत्रमा सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा गुणस्तरीय तथा अनुकरणीय शैक्षिक वातावरण बनाउन सहयोेग गर्ने, विज्ञान प्रयोगशाला, उपयुक्त सूचना प्रविधि, बाल तथा अपाङ्गमैत्री संरचना, खानेपानी र व्यवस्थित शौचालय, तालिम प्राप्त शिक्षकसहित साधनस्रोत सम्पन्न विद्यालय स्थापना गर्न शिक्षामा बढी भन्दा बढी लगानीको लागि जोड दिने, बृहत्तर रोजगारी सिर्जना गर्न महिला र युवा केन्द्रित सीपमूलक तालिम र व्यवसाय सञ्चालन गर्न सहज सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने, प्रस्तरकला, काष्ठकला, चित्रकला र धातुकलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिकीकरण गर्न प्रोत्साहन र प्रबर्द्घन गर्ने विषय प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । 
ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका २ गरी २२ वटा वडा रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राचीन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भौतिक र सामाजिक विकास लगायत विषय उल्लेख गरिएको छ । ‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षताको आधारमा स्वदेश फर्केर सोही पेसा व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहन गर्नेछौं । उत्पादित वस्तुहरुलाई निर्यात गरी अन्तर्राष्ट्रिय रुपमा बजारीकरणको विषय प्रतिबद्धतापत्रमा उल्लेख छ । 
प्रतिबद्धतापत्रमा भनिएको छ– ‘जेष्ठ नागरिक, फरक क्षमता भएका, एकल महिला, श्रमिक तथा असहायको सुरक्षाका लागि राज्यले दिने सुबिधा लक्षित वर्गमा पुर्याउने र समय अनुकूल कार्य गर्नेछौं  ।’
 ९४ हजार ११४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल लगायतका क्षेत्रका ऐतिहासिक सम्पदा रहेका छन् । ती क्षेत्रका जनताको जीवन स्तर उकास्न र युवा पलायनलाई जोगाउन ठोस कदम चाल्ने उल्लेख छ । 
महिलालाई नेतृत्व तथा नीति निर्माण तहमा पहुँच बढाउन, उत्पादनमुखी क्षेत्रमा प्रोत्साहन गर्न,  आयआर्जन वृद्धि गर्न,  सरकारी सेवा क्षेत्रमा लाग्न आवश्यक वातावरण तयार गर्न पहल गर्ने, महिला हिंसा, बलात्कार र यौनहिंसा जस्ता जघन्य अपराध न्युनीकरण गर्न कानुनमा सुधार तथा कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतापत्रमा जनाइएको छ । प्रतिबद्धतापत्रमा समावेश गरेका सम्पूर्ण विषयलाई कार्यान्वयन गर्ने प्रण गर्दै प्रदेश ३(१) का उम्मेदवार रघुनाथ महर्जनले आफूले बाचा गरेका सबै विषयलाई जनताको चाहना अनुसार कार्यान्वयन गर्ने बताउनुभयो । 
प्रदेश ३(२)का उम्मेदवार प्रेमभक्त महर्जनले जनताको समस्या पहिचान गरी सो क्षेत्रका जनताको जीवनस्तरमा उकास्न एमालेको सरकार अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘क्षेत्रको जनताबाट अनुमोदन भएको प्रतिबद्धतालाई कार्यान्वयन गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’ 
ललितपुरबासीको सहज पहुँच तथा अधिकतम हित हुनेगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणात्मक बनाउने  योजना तथा कार्यक्रमलाई आवश्यक सहयोग गर्न पहल गर्र्ने, सामुदायिक वनलाई पर्या–पर्यटनको रुपमा विकास गर्ने, सामुदायिक वनमा जडिबुटी खेतीको विस्तार गर्ने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । खुलाक्षेत्र, पार्क र हरियाली प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता छ ।  
एमाले उम्मेदवारहरुले थप निम्न विषयमा प्रतिबद्धता जनाउनुभएको छ । कला, संस्कृति, भेषभुषा, रहनसहन र सुन्दर दृष्यले भरिपूर्ण यस क्षेत्रलाई विश्व सामु चिनाउन विशेष कार्यक्रम ल्याउन पहल गर्नेछौं । पर्यटकीय नगरी ललितपुरको पहिचान बढाउन हेरिटेज होटल तथा होमस्टेलाई प्रबद्र्धन गर्ने, परम्परागत ख्यातिप्राप्त वस्तुहरुलाई ब्राण्डिङ गर्न पहल गर्ने, नेवारी संस्कृति, कला, रहनसहन र परम्परालाई पर्यटन र जीविकोपार्जनमा सहयोग पुग्नेगरी आवश्यक नीति तथा कार्यक्रम ल्याउन पहल गर्नेछौं । 
शताब्दीपुरुष स्वर्गीय सत्यमोहन जोशीको नाममा नेपालको भाषा, लिपि, कला, संस्कृति र रहनसहनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धन गर्न एक प्रतिष्ठान स्थापना गर्न पहल गर्नेछौं । ललितपुर जिल्लाभित्र रहेका ऐतिहासिक मन्दिर, ढुङ्गेधारा, पाटीपौवा, पोखरी पुनःनिर्माण र संरक्षण गर्न पहल गर्नेछौं । सबै किसिमका गुठी, बाजागाजा लगायत धर्म संस्कृतिको रक्षा गर्नेछौं । कात्तिकनाच, सिकालीजात्रा, हरिसिद्धिजात्रा, मच्छिन्द्रनाथको रथजात्रा आदिलाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने, अमूर्त सम्पदा संरक्षण गर्न आवश्यक कार्य गर्नेछौं । 
यसका लागि सम्पदाको पहिचान, लिपिबद्ध अभिलेखीकरण तथा आवश्यकतानुसार स्थानीय तह, प्रदेश, संघ तथा युनेस्कोेमा सूचीकरण गर्न पहल गर्नेछौं । सूचना प्रविधिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रबिधि उत्पादकहरुबीच सहकार्य गर्न आवश्यक पहल गर्नेछौं ।