दाङ । नेकपा (एमाले) का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले दाङको गुठी समस्या समाधान गर्न एमाले सरकार आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) घोराही– १४ ले आइतबार झिगौरामा आयोजित चुनावी कार्यक्रममा महासचिव पोख्रेलले एमालेले मात्रै गुठी समस्या समाधान गर्ने बताउनुभयो ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले गुठी समस्या समाधान गर्न गुठी ऐन संशोधनका लागि विधेयक ल्याएको थियो तर त्यसमा भएका सकारात्मक पक्षको अध्ययन नै नगरी काठमाडौंमा विरोध भएपछि विधेयक अगाडि नबढाइएको जानकारी गराउँदै महासचिव पोखे्रलले भन्नुभयो– ‘यो समस्या बुझेरै एमालेले ऐन संशोधनको प्रयास गरेको हो । फेरि एमाले सरकार बन्छ अनि बर्षौंदेखिको गुठी जमिनका किसानका समस्या समाधान हुन्छ ।’
महासचिव पोख्रेलले भन्नुभयो– ‘एमाले सरकारमा गएपछि काठमाडौंको गुठी समस्या अलग हिसाबले समाधान गर्छौं । दाङलगायत देशभरको गुठी समस्या पनि समाधान गर्छौं ।’
उहाँले एमाले सरकारले देशको भूमिसम्बन्धी सबै समस्या समाधन गर्ने बताउनुभयो ।
महासचिव पोख्रेलले भन्नुभयो– ‘देश र जनताको भाग्य र भविष्य निर्माणको अभियानमा एमाले लागेको छ । यस अभियानलाई सफल बनाउने अवसर मंसिर ४ हो । परमादेशी सरकारको बिदाइ र जनादेशको सरकारको स्वागत गर्न जनता आतुर रहेका छन् ।’
उहाँले दाङको भविष्य बनाउन प्राबिधिक शिक्षा, सिंचाइका लागि कृत्रिम जलाशय, भाइरल रोडलगायत थुप्रै विकास गरेको बताउनुभयो । महासचिव पोखरेलले गुमेको प्रदेश राजधानी फर्काउने, दाङ–प्युठान सडक कालोपत्रे, दाङ–होलेरी–डोल्पा शहिदमार्ग, अमेलिया–तुल्सीपुर–सल्यान तथा दाङ–सुर्खेत र बबई–कोहलपुर सडक निर्माण गर्दाको कामको स्मरण गर्नुभयो ।
उहाँले राजनीतिक बजार बन्द हुने डरले केही दलहरुले गठबन्धन गरेको भन्दै स्वार्थहरुको झुन्ड धेरै नटिक्ने बताउनुभयो ।
सो अबसरमा जनगायक बद्री पङ्गेनीले देशको विकास र दाङकोे समृद्धिका लागि शंकर पोखरेललाई जिताउन गीतमार्फत अपिल गर्नुभयो ।