detail-img

‘कडा र असाध्य रोगको निःशुल्क उपचार’ 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ६० बर्ष भन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको राज्यबाट निःशुल्क परिक्षण तथा औषधि उपलव्ध गराइने घोषणा गरेको छ । साथै, कडा र असाध्य रोगहरूको उपचार निःशुल्क गरिने जनाएको छ ।
महिलालाई स्यानिटरी प्याड किन्न पैसा
आगामी मंसिर ४ गते हुने निर्वाचनमा बहुमतका साथ विजयी भई सरकार गठन गरेको अवस्थामा एमालेले महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि बार्षिक रु १ हजार ५ सय रुपियाँ उपलब्ध गराउने भएको छ ।
एमालेले आफ्नो निर्वाचन घोषणापत्रमार्फत नागरिकको स्वास्थ्यलाई विशेष रुपमा सम्बोधन गर्दै ‘निरोगी नेपाल’ मुख्य स्वास्थ्य नीति बनाएको छ । 
एमालेले यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिने र स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइने प्रतिबद्धता जनाएको छ ।
स्वच्छ विचार, सकारात्मक चिन्तन, स्वस्थ खाना, नियमित व्यायामलगायतका स्वास्थ्य शिक्षाका विषयहरूमा आम नेपालीलाई प्रशिक्षित गर्न नागरिक स्वास्थ्य जागरण कार्यक्रम सञ्चालन गरिने छ । 
 सबै नागरिकलाई मुलुकभित्रै स्वास्थ्य सेवाको ग्यारेन्टी
‘भान्सा नै औषधालय हो, भान्सालाई विषमुक्त गरौँ’ अभियान सञ्चालन गरी आहार–व्यवहारमा जनसचेतना विकास गरिने घोषणापत्रमा उल्लेख छ ।
सबै नागरिकलाई मुलुकभित्रै प्राथमिकदेखि अति जटिल र विशिष्टीकृत सम्पूर्ण स्वास्थ्य उपचार सेवाको ग्यारेन्टी गरिने एमालेले जनाएको छ । 
सबै नेपालीलाई उच्च गुणस्तरको उपचार सेवा नजिकबाट तत्कालै उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने राष्ट्रिय अभियानअन्तर्गत अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने अठोटका साथ ३९६ स्थानीय तहका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पताल निर्माणको शिलान्यास गरिएको थियो ।
सोही सरकारले जिल्ला अस्पताललाई २५ देखि ५० शैयाको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शैयाको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शैयाको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने कार्यक्रम सुरु गरेको थियो ।
काठमाडौँ उपत्यकामा ३०० शैया र सातै प्रदेशमा ५० शैयाको सरूवा रोग अस्पताल निर्माण प्रारम्भ गरेको एमालेको सरकारले  जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने अस्पतालहरूको निर्माण प्रारम्भ गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । 
पर्याप्त सङ्ख्यामा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य उपकरण तथा औषधीको कमी हुन नदिने दिगो प्रणाली सुनिश्चित गर्दै रहेको अवस्थामा सरकारबाट बाहिरिएको र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आम नेपालीको जीवन रक्षाका सर्वाधिक महत्त्वपूर्ण यी कार्यक्रमहरूलाई अलपत्र पारेको, बजेट काटेको, कार्यान्वयन रोकेको घोषणापत्रमा उल्लेख गरिएको छ ।
आसन्न निर्वाचनमार्फत् नेकपा (एमाले) ले देउवा नेतृत्वको जनविरोधी गठबन्धनबाट जनतालाई मुक्त गरी सरकार गठन गरेको तीन वर्षभित्रमा यी सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने घोषणा गरेको छ । सबै नेपालीलाई उच्च गुणस्तरको स्वास्थ्य उपचार सेवा स्वदेशमै उपलब्ध गराउने घोषणा एमालेले गरेको छ । 
पाँचबर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा 
घोषणापत्रमा भनिएको छ– ‘आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसकिने छ, स्वास्थ्य बीमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध हुने गरी सुनिश्चित गरिने छ । निःशुल्क वितरण गरिने औषधीको सङ्ख्यामा थप र सुर्वसुलभ गरिने छ । यस्ता विरामीहरू र ८० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई पोषणयुक्त आहारका लागि थप सहायताको योजना ल्याइने छ । खोप, पोषण र प्रसूति सेवाको अभाव हुन दिइने छैन ।’
बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकहरूको स्वास्थ्य उपचार तथा पोषणका लागि ‘जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी’ कार्यक्रम सुरु गरिने एमालेले जनाएको छ ।

स्थानीय तहमा २४सै घण्टा एम्बुलेन्स सेवा
सबै स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बाल उपचार कक्ष, ज्येष्ठ नागरिक उपचार कक्ष र मातृशिशु उपचार कक्षको अनिवार्य व्यवस्था गरिने छ । सबै स्थानीय तहमा २४सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ, राजमार्गको निश्चित दूरीमा ट्रमा सेन्टर स्थापना गरिने छ । आवश्यकता र सम्भावनाको आधारमा हेलिकप्टर वा हवाइजहाज वा एम्बुलेन्स व्यवस्था गरेर गर्भवती महिला र दुर्घटनामा परेका व्यक्तिको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था मिलाइने छ । 
स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न एक नियमनकारी निकाय ‘राष्ट्रिय प्रत्यायन प्राधिकरण’ (नेशनल एक्रिडेशन अथोरिटी) बनाई स्वास्थ्य सेवाको नियमन गरिने कुरा घोषणापत्रमार्फत एमालेले जनाएको छ । 
स्वास्थ्य सेवामा चिकित्सकहरूको मात्र सेवा शुल्क तोकिएको सन्दर्भमा सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवाको शुल्क र गुणस्तर पनि तोकिने एमालेको योजना छ । प्रयोगशाला लगायत निदानात्मक स्वास्थ्य सेवालाई नियमनकारी निकायमार्फत् व्यवस्थित गरी देशभरिका सेवा व्यवस्थित र नियमन गरिने छ ।
घरघरमा स्वास्थ्य सुविधा पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धिसहित थप सेवा सुविधा उपलब्ध गराउने घोषणा गर्दै एमालेले सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राखी ४० वर्षमाथिका सबै व्यक्ति र औषधि उपचार गरिरहेका सबै नेपालीको निःशुल्क नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिने जनाएको छ । 
स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त औषधि र चिकित्सा उपकरण उत्पादन गर्न प्रोत्साहित गरिने, गम्भीर रोगको पूर्व परीक्षण (स्क्रिनिङ), पाठेघरको क्यान्सरको निशुल्क परीक्षण र सबै गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा गई प्रसूति हुने व्यवस्था, गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण, मातृत्व शिक्षा र शिशु स्याहारको जानकारीलाई अझ प्रभावकारी बनाइने विषय एमालेको घोषणापत्रमा छन् ।