detail-img

‘विनाश होइन, जनताले विकासको बाटो रोज्नुपर्छ’

पोखरा (कास्की) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले विनाश होइन, विकासको बाटो रोज्नुपर्ने वताउनुभएको छ । 
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा आज पोखरामा  आयोजित वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई कता लैजाने भन्ने कुनै गन्तव्य नभएको गठबन्धनलाई जिताउँदा विनाश भोग्नुपर्नेतर्फ सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले प्रश्न गर्नुभयो–‘विकास रोज्ने कि विनाश ?, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान रोज्ने कि पराधीन बन्ने ?, राजनीतिक स्थिरता रोज्ने कि अस्थिरता ?’
मुलुकले राजनीतिक स्थिरताको बाटो समातिसकेको अवस्थामा केही तत्वले त्यो सहन नसकेर देशलाई अस्थिरतातिर धकेलेको उहाँको भनाई थियो ।


अध्यक्ष ओलीले २०७४ सालको निर्वाचनमा माओवादीसँग संयुक्त घोषणापत्रका आधारमा जनमत प्राप्त गरिसकेपछि सोही घोषणापत्र कार्यान्वयनमा लाग्नुपर्नेमा प्रचण्डले घोषणापत्र च्यात्नुका साथै जनादेशविरुद्ध सरकार ढाल्ने षडयन्त्रमा लागेपछि आफूले ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट गर्दै राजनीतिक मुद्दामा अदालत गुहार्ने प्रतिगामी तत्वहरूले त्यसको गलत ढङ्गले व्याख्या गरिरहेको वताउनुभयो । 
अध्यक्ष ओलीले स्वतन्त्र न्यायालयको मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सर्वोच्च अदालतले सरकार गठनको परमादेश जारी गर्नु गल्ती भएको र यसबाट ‘चेक एण्ड व्यालेन्स’को व्यवस्था विथोलिएको विचार व्यक्त गर्नुभयो ।  
यतिवेला विभिन्न सर्भेक्षण भन्दै कतिपयले निर्वाचनमा एमालेले नेपाली काँग्रेसको हाराहारी सङ्ख्यामा ल्याउँछ भन्ने इम्प्रेसन दिन खोजीरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली काँग्रेससँग अत्यधिक अन्तरका साथ एमालेले एकल बहुमत ल्याउने वताउनुभएको छ । 
उहाँले भन्नुभयो–‘गठबन्धनवालाहरूले यस्ता सर्भेक्षणका आधारमा भ्रम फैलाउन खोजिरहेका छन् ।’
निर्वाचनमा एमालेले एकल बहुमत ल्याए पनि सरकार गठनमा अन्य दललाई पनि सहभागी गराउने स्पष्ट गर्दै उहाँले भन्नुभयो–‘सरकारमा अन्य दल सहभागी भए पनि सरकारको नीति, कार्यक्रम एमालेको घोषणापत्रका आधारमा बन्ने छ, सरकारले एमालेको घोषणापत्र लागू गर्नेछ ।’
कार्यकर्ता भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने नेताकार्यकर्ताहरूलाई अध्यक्ष ओली र अन्य नेताहरूले स्वागत गर्नुभएको थियो ।

गठबन्धन सातुको डल्लो
यसैगरी बागलुङको आमसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभयो । 
नेकपा (एमाले) बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिनुभयो । 
स्याङ्जामा आयोजित आमसभामा अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई सातुको डल्लोको संज्ञा दिनुभयो । 


अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकार आयो भने हामी त देश छाडेर भाग्नुपर्छ भन्छन्, किन भाग्नुपर्यो देश छाडेर ? तपाईंहरुको सटर चल्दैन भन्ने हो भने सटर त बन्द हुन्छ । खुद्रा पसलहरुको सटर चुनावपछि बन्द हुन्छ ।
अध्यक्ष ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएर छाड्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सन् १९५२ मा चीनतर्फको सीमामा नेपाली काँग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा भारतले राखेका १७ चेक पोस्ट कीर्तिनिधि विष्टले हटाए । हामी पनि भारतले मिचेको भूमि फिर्ता ल्याएर देखाउँछौँ ।’