detail-img

सम्पदा संरक्षण गर्दै हस्तकला पुस्तान्तरण गर्न लाग्ने महर्जनको प्रतिबद्धता  

ललितपुर । कलाको नगरीका रुपमा रहेको ललितपुरमा हस्तकला पुस्तान्तरण गर्ने र नगरमा रहेका संस्कृतिको जर्गेना गर्ने योजना निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार प्रेम महर्जनको छ । 
राजनीतिसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय उहाँले  नयाँ पुस्ता हस्तकलामा आकर्षित नभएको अवस्थामा उनीहरुलाई सीपमूलक तालिम दिने योजना बनाउनुभएको छ । यस क्षेत्रमा रहेका बहाः, बही, मठमन्दिर, पाटीपौवाहरुको भौतिक तथा सांस्कृतिक संरक्षणका लागि पहल गरिने उहाँले बताउनुभयो ।
नगरका विभिन्न क्षेत्रमा जुन पुस्ताले काम गरिरहेको छ त्यो पुस्ताले अब गर्न नसक्ने भएको र नयाँ पुस्ताले रोज्न नसकेको उम्मेदवार महर्जनले बताउनुभयो । युवालाई सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यसबाट सांस्कृतिक र हस्तकलामा विकास गर्न सकिन्छ ।” 
यस क्षेत्रमा अद्वितीय बौद्ध सम्पदाहरु रहेको र तीनलाई संरक्षण गर्न र प्राचीनकालदेखि उपत्यकामा चलिआएको बुद्ध शिक्षा र बौद्ध अभ्यासको संस्कृतिलाई जगेर्नाका लागि लाग्ने उहाँले मतदातासँग प्रतिबद्धता जनाउनुभएको छ । 
रातो मछिन्द्रनाथ तथा मीननाथको जीवन्त सङ्ग्रहालय निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने  महर्जनले बताउनुभयो । सांस्कृतिक बाजागाजा, भजन, तुतः नामसंगीति पाठ, पूजाविधि, जात्रापर्वलगायतका मूर्त र अमूर्ति सांस्कृतिक सम्पदा संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
आफू निर्वाचित भएपछि पाटन दरवार क्षेत्रमा जीर्ण अवस्थामा रहेको पुरानो जिल्ला अदालतको भवनलाई पुनःनिर्माण गर्ने महर्जनको योजना छ । नगरलाई स्वच्छ, सफा र आकर्षक वातावरण निर्माण गरी देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पनि उहाँको योजना छ । 
यस क्षेत्रका व्यक्तिगत घरहरुका पनि इँटा, ढोका, झ्यालमा कला नमूना भेट्न सकिन्छ । आगामी दिनमा एकीकृत नगर विकासको योजना अघि बढाउँदै यहाँका संस्कृति जीवन्त बनाइराखिने उहाँको योजनामा छ ।  
मङ्गलबजार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ र अझै व्यवस्थित ढङ्गबाट विकास गर्नुपर्ने महर्जनको धारणा रहेको छ । मङ्गलबजारमा पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिमा सूचिकृत रहेको छ । यहाँ लिच्छिबीकालीन र मल्लकालीन धेरै ऐतिहासिक धरोहर, मन्दिर, दरबार, पाटीपौवा र ढुङ्गेधारा रहेकामा तीनलाई जगेर्ना गर्नु  प्रमुख दायित्व रहेको उहाँको धारणा छ । त्यस क्षेत्रमा योजनाबद्ध विकासको योजना उहाँले मतदातालाई सुनाउदै आउनुभएको छ । 
सिद्धिपुर, लुभुलगायतका शहरहरुमा छरिएर रहेका सम्पदा संरक्षण गर्नुपर्ने आबश्यकता रहेको महर्जनको धारणा छ । अमूर्त संस्कृतिका रुपमा रहेको रितिरिवाज, संस्कार, संस्कृतिले नेपाललाई विदेशसम्म चिनाएको छ । बाजागाजा र ऐतिहासिक नाच, गीत पनि संरक्षणका लागि लाग्ने उहाँले बताउनुभयो ।  
विगतमा दुई पटक वडाअध्यक्षका रुपमा निर्वाचित भएर नागरिकको मन जित्ने गरी काम गरिसक्नुभएका महर्जनले ग्रामीण विकासमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँ राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ज्यापु समाज यलको अध्यक्ष भइसक्नुभएका उहाँ हाल टोल सुधार समिति गुइटोलका अध्यक्ष हुनुहुन्छ ।