detail-img

 ‘एमालेले जहाँ टेक्छ, त्यहाँ विकास गर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा एमालेले असाधारण भूमिका निर्वाह गरेको वताउनुभएको छ । 
झापा निर्वाचन क्षेत्र नं. २ मा पर्ने सुखानीको सालबाडी पार्कमा मंगलबार आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) विचार, संगठन, काम र कार्यक्षमतामा देशको प्रमुख पार्टी भएको वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘एमाले जहाँ पुग्छ, त्यहाँ विकास गर्छ, महत्वपूर्ण काम गर्छ, जहाँ टेक्छ त्यस ठाउँलाई परिवर्तन गर्छ भन्ने कुरा यस ठाउँँको विकासले पनि बताएको छ ।’


सत्ताधारी गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई लगेर उम्मेदवार बनाएको वताउँदै अध्यक्ष ओलीले देशमा परिवर्तनका लागि साढे चार दशक योगदान गरेका एमाले उम्मेदवार देवराज घिमिरेलाई यस क्षेत्रका दैलो दैलोले चिन्ने हुँदा आगामी निर्वाचनमा जित सुुनिश्चित रहे पनि अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो । 
नेता घिमिरेले राजनीतिमा ४७ वर्ष बिताए पनि अहिलेसम्म अवसर नपाएको तर्फ उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘देवराज घिमिरे राजनीति गरौं गरौं जस्तो लागेर, माननीय हौं हौं जस्तो लागेर एकैचोटी आएको मान्छे होइन, उहाँ वर्षौं अघि नै मेची अञ्चलका चारै जिल्लाका आधाभन्दा बढी घरमा पुग्नुभएको छ । उहाँलाई यहाँ घरदैलो गरिरहनुपर्ने समेत आवश्यकता छैन ।’

अध्यक्ष ओलीले एमालेले लामो समय जनसेवामा लागेका योग्य नेताह?लाई उम्मेदवार बनाएकाले झापा क्षेत्र नं.  २ का मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाका तीनै जना उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । 
झापा क्षेत्र नं. २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा देवराज घिमिरे र प्रदेश सभा सदस्यमा एकराज कार्की र चिन्तन पाठक उम्मेदवार हुनुहुन्छ ।