detail-img

केन्द्रीय सल्लाहकार परिषदद्वारा विशेष निर्देशन 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा विशेष निर्देशन जारी गरेको छ । 
परिषद्का अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको निर्देशनमा सल्लाहकार परिषद्का सदस्यहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन पार्टीका चुनावसम्बन्धी कार्यक्रममा सहभागी भई आ– आफ्नो ठाउँमा लाग्न आग्रह गरिएको छ । 
निर्देशनको पूर्ण पाठ यस प्रकार छः
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का कमरेडहरूलाई खासगरी निम्न ३ विषयमा आधारित भएर यो विशेष निर्देशन जारी गरिएको छ । पार्टीको सूचना संयन्त्रमार्फत् यसलाई प्राप्त गरी आआफ्ना ठाउँमा लागू गर्न/गराउन हार्दिक आग्रह गर्दछ । 
१.    नेपालको भविष्य निर्माण गर्ने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउने मंसिर ४ मा हुँदैछ । त्यो दिन आउन अब धेरै बाँकी छैन । ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो विगतदेखिको लक्ष्यलाई पूरा गर्न सल्लाहकार परिषद्का सबै कमरेडहरू पूर्व निर्णयअनुसार आआफ्ना ठाउँमा जिम्मेवारीपूर्वक लागिनैरहनु भएको छ । यसमध्ये केही कमरेडहरू पार्टीका तर्फबाट आफै उम्मेदवार समेत भएर चुनावी मैदानमा समेत हुनुहुन्छ । तसर्थ परिषद्का सबै कमरेडहरूलाई चुनावसम्बन्धी पार्टीको कार्यक्रममा सहभागी भएर नेकपा (एमाले)का सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी गराउन आफू सक्दो आआफ्नो ठाउँमा लाग्न केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट फेरि पनि हार्दिक आग्रह गर्दछ । 
२.    पार्टी विधानबमोजिम हरेक वर्ष आफ्नो पार्टी सदस्यता नवीकरण गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व हो । यसबारे सल्लाहकार परिषद्का कमरेडहरूलाई जानकारी गराइएकै छ । तसर्थ परिषद्का सदस्यहरूमध्ये जो जसले आफ्ना सदस्यता नवीकरण गर्नुभएको छैन, उहाँहरूले आफ्नो सदस्यता आफ्नै सम्बन्धित जिल्ला वा केन्द्रीय संगठन विभागमार्फत् नवीकरण गरी यस परिषद्लाई जानकारी गराउनुपर्नेछ । नवीकरणको अभावमा पार्टीको वैधानिक काममा पर्ने असरप्रति कमरेडहरू आफैं सचेत हुनुहुन्छ । 
३.    केन्द्रीय सल्लाहकार परिषद्को सदस्यहरूको विवरण अध्ययन गर्दा केही सदस्यहरूको सदस्यता प्राप्त मिति र सदस्यता नम्बर उपलब्ध नभएको पाइयो । तसर्थ यसैलाई सूचना मानी परिषद्का कमरेडहरूले आआफ्नो सदस्यता प्राप्त मिति र नम्बरको विवरण सोझै संगठन विभाग वा परिषद्को कार्यकक्षमा पठाई दिनुहुनेछ । हामी सोही आधारमा परिचय पत्रको समेत व्यवस्था गर्नेछौं ।