detail-img

‘गठबन्धनका दलहरूलाई राष्ट्रियताप्रति चिन्ता, चासो छैन’ 

दिपायल (डोटी) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको वताउनुभएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  सो कुरा वताउनुभएको हो । 
‘विभिन्न दलबीच जुन गठबन्धन भएको छ, त्यो देशको विकास, समृद्धिका लागि होइन, राष्ट्रियताप्रति चिन्ता र चासो छैन, केबल जनतालाई झुठो आश्वासन दिएर चुनाव जित्ने र पछि भागबण्डा गरेर खाने एउटामात्र उद्देश्य हो ।’ 
मंसिर ४ पछि नेकपा( एमाले) को नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरू पश्चिम सेती, खुटीया–दिपायल फास्ट ट्रयाक, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिने, नेपालको नक्शामा कायम गरिएको लिपुलेक लिम्पियाधुराको भूमि फिर्ता ल्याउने दृढता व्यक्त गर्नुभयो ।

 
सोही कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अहिलेको लडाईं राष्ट्रियताको रक्षा र सम्वर्द्धन, विकास, समृद्धि र समाजवादको यात्रामा रहेको एमाले र दक्षिणपन्थी पुँजीवादीहरू बीचको भएको वताउनुभयो । 
सचिव भट्टले पार्टीभित्रका केही सकुनीका कारण अघिल्लो सरकार पाँचबर्ष टिकाउन नसकिएको वताउँदै आज मुलुकमा देश र जनताको पक्षमा कठोर निर्णय लिनसक्ने राजनेताको आवश्यकता रहेको र त्यो अध्यक्ष केपी ओलीले पूरा गर्ने वताउनुभयो । 
उहाँले अध्यक्ष ओली नेतृत्वको सरकारले छोटो समयमै गरेका विकास निर्माणका कामको चर्चा गर्दै भन्नुभयो–‘ आर्थिक वृद्धिदर बढ्योे, देश औद्योगिकरणका लागि सातै प्रदेशमा औद्योगिक क्षेत्र घोषणा गरियोे, करिव पाँचहजार किलोमिटर सडक कालोपत्र भयो ।’