detail-img

‘गठबन्धन दलले चुनाव जित्ने विश्वास गुमाइसकेका छन्’

कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूलाई आफूहरूले निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास नरहेको वताउनुभएको छ । 
कैलालीको अत्तरिया र लम्कीचुहामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि सरकार गठन गरिन्छ भन्ने विश्वास नभएकै कारण उनीहरूले छुट्टाछुट्टै घोषणापत्र बनाएका र निर्वाचनपछि को प्रधानमन्त्री हुने भन्ने पनि निर्णय नगरेको वताउनुभयो ।
उहाँले भन्नुभयो– ‘उनीहरुसँग प्रधानमन्त्रीका लागि देखाउन लायक मान्छे नै छैन, छ भने निर्णय गरेर देखाउन् । सबैका छुट्टाछुट्टै घोषणापत्र छन्, कस्को घोषणापत्र लागू गर्ने ? कस्को न कस्को ।’
सत्ता गठबन्धनमा रहेका दलहरूका घोषणापत्र जनता अल्मल्याउन मात्र भएको उहाँको भनाई छ । 
अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरू आफैमा एकले अर्कोलाई झुक्याएर सत्ता प्राप्त गर्ने दाउमा रहेको वताउनुभयो । 
नेपाली काँग्रेस र माओवादी एकले अर्कोलाई भोट हाल्ने अवस्था नरहेको वताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बम हाल्ने र काँग्रेसका पाँचसय कार्यकर्ताको हत्या गर्ने माओवादीलाई काँग्रेसका कार्यकर्ताले कसरी भोट हाल्नसक्छन् ? त्यस्तै, आफू प्रधानमन्त्री हुँदा माओवादीका नेताहरूको टाउकाको मोल तोक्ने देउवा र उनका उम्मेदवारलाई कसरी भोट हाल्छन् माओवादी कार्यकर्ताले ?’
अहिलेको गठबन्धन र यसमा रहेका दलहरुले देशमा एउटा मात्रै राम्रो काम मैले गरेँ भनेर देखाउनसक्ने स्थिति नरहेको र  नेपाली काँग्रेसले २३/२४ बर्ष सत्तामा रहँदा उद्योग धन्धा बेच्ने बाहेक एउटा पनि राम्रो काम नगरेको उहाँको भनाई छ ।


देश बनाउने भिजन एमालेसँग मात्र
अध्यक्ष ओलीले देश बनाउने भिजन र देशव्यापी मजबुत संगठन एमालेसँग मात्र भएकाले एमालेलाई बहुमतको सरकार बनाउने गरी विजयी गराउन आग्रह गर्नुभयो ।  
देश विकासका लागि बलियो र स्थायी सरकार बनाउन एमालेले जित्नुपर्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेसँग एक्लै लड्न नसक्ने भएपछि काँग्रेस र माओवादी लगायतले गठबन्धन बनाए । माओवादी त एमालेसँग एक्लै लड्न सक्दैनथ्यो, काँग्रेससँग पनि आँट देखिएन ।’ 
उहाँले गठबन्धनमा रहेका दलहरू कसैले पनि बहुमत ल्याउने र सरकार गठन गर्ने गरी उम्मेदवारी नै नदिएको यथार्थ प्रस्तुत गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–‘निर्वाचनमा भ्रष्टाचार गरेको पैसा लिएर आउन सक्छन्, गरिव जनताले तिनीहरूको पैसा हात परे खाइदिए हुन्छ तर भोट चाहीँ देश र आफ्ना सन्तानको भविष्य विग्रने गरी दिनुहुँदैन ।’  
देशी विदेशी शक्तिले म्याम्या गर्नेहरूलाई हरियो घाँस देखाएर आफ्नो नेतृत्वको सरकार ढालेको वताउँदै अध्यक्ष  ओलीले ४१ महिनामा एमाले सरकारले गरेका कामको जानकारी गराउनुभयो ।   
कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतका नेता तथा उम्मेदवारहरूले पनि बोल्नुभएको थियो ।