detail-img

अध्यक्ष ओलीद्वारा काँग्रेस र माओवादीका कार्यकर्तालाई एमालेमा आउन आह्वान 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट नीति, विचार र गन्तव्य एमालेसँग मात्र रहेको वताउँदै नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरूलाई एमालेमा आउन आग्रह गर्नुभएको छ । 
कैलालीको लम्कीचुहा, अत्तरिया र डोटीको दिपायलमा आज आयोजित भव्य चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देश बनाउने चाहना हो भने अन्य दलमा रहन आवश्यक छैन भन्नुभयो । 
फुटेको हाँडीका टुक्राजस्तो जोडजाडको सरकारले देश हाक्न नसक्ने र देशको विकास पनि नहुने भन्दै अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउने नीतिका साथ अगाडि बढिरहेको एमालेमा आउन आग्रह गर्नुभयो । 
अवसरजति आफ्ना परिवारका सदस्य र आफन्तमा केन्द्रित गर्ने नेताहरूका पछाडि लागिरहनुपर्ने कुनै आवश्यकता नभएको भन्दै उहाँले काँग्रेस र माओवादीका कार्यकर्तालाई निर्वाचन अघि नै एमाले प्रवेश गरी देश विकास गर्ने अभियानमा जोडिनुस् भन्नुभयो । 
नेकपाको विभाजनपछि रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत धेरै नेताकार्यकर्ता एकताको पक्षमा उभिनुभएको वताउँदै अध्यक्ष ओलीले माओवादी केन्द्रमा रहेका कम्युुनिष्ट कार्यकर्ताहरूलाई नेकपाको निरन्तरताको रुपमा रहेको एमालेमा फर्कन आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो– ‘बाहिरी शक्तिका इसारामा पार्टी टुक्र्याउने मति भएका नेताका पछाडि किन लाग्नुहुन्छ आउनुुस् । देश बनाउने, आर्थिकरुपमा समाज परिवर्तन गर्ने तपाईंहरूको सपना एमालेले पूरा गर्छ ।’
अध्यक्ष ओलीले माधव नेपालको पार्टी त रित्तो भइसकेको र बाँकी पनि एमालेमा फर्कने विश्वास व्यक्त गर्दै पार्टी निर्माण, विस्तार, एकता र एकीकरणको अभियान लगातार चलाई रहने वताउनुभयो । 
उहाँले भन्नुभयो– ‘गठबन्धन दलहरूले देश विगार्न नपाउन् भन्ने चाहना राख्नेहरू मंसिर ४ गते अघि नै एमालेमा प्रवेश गर्नुस् ।’ 
नेकपा (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य तय गरेको छ । त्यहाँ पुग्नका लागि आफ्ना नीति, कार्यक्रम बनाएको एमाले  देशको राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने अभियानमा छ । त्यसका लागि पार्टी प्रवेश चलाईरहेको छ र दिनहुँजसो मानिसहरू एमाले प्रवेश गरिरहेका छन् ।