detail-img

समृद्ध नेपाल बनाउने सुदृढ शक्ति एमालेमात्रः अध्यक्ष ओली 

सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने सङ्कल्प गरेको एमालेले आसन्न निर्वाचनमा बहुमतका साथ विजय प्राप्त गरी सरकार बनाउने वताउनुभएको छ ।  

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउने राष्ट्रिय शक्ति एमाले बाहेक अरू कोही हुन नसक्ने वताउनुभयो । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्न देशमा सुदृढ राष्ट्रिय शक्ति आवश्यक परेको भन्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले रहेको बताउनुभयो ।
उहाँले गठबन्धन सरकार देशको विकासका लागि नभई  स्वार्थका लागि बनेको वताउनुभयो ।

 
देशको गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाको किन टाउको दुःखेको भन्दै अध्यक्ष ओलीले वार्तामार्फत देशको गुमेको भूमि फिर्ता ल्याउने स्पष्ट गर्नुभयो ।  
अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने र काँग्रेस दोस्रो भई प्रमुख प्रतिपक्षमा वस्ने भएकाले आफै तेस्रो शक्ति हुन्छौं भनेका प्रचण्डले सरकार गठनका लागि विचौलियाको भूमिका नपाउने वताउनुभयो । देशको स्वाभिमान जोगाउने पार्टी एमाले मात्रै भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘देशी/विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् तर मैले भन्ने गरेको छु, स्याल सयवटा भए पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैनन् ।’
गठबन्धनको कुनै लक्ष्य नभएको र एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न मतदातालाई अध्यक्ष ओलीको आग्रह थियो ।