detail-img

एमालेको घोषणापत्र देश बनाउने मार्गचित्र 

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र देश बनाउने मार्गचित्र भएको वताउनुभएको छ । 
चितवनको भरतपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घोषणापत्र कार्यान्वयनका लागि एमालेले २० ग्यारेण्टी अघि सारेको वताउनुभयो । 
देशभर एमालेका चुनावी सभामा देखिएको असाधारण र उत्साहपूर्ण जनसहभागिताबाट नेपाली जनताले आफ्नो मनमा मंसिर ४ गते कसलाई मतदान गर्ने भन्ने फैसला गरिसकेको र त्यसबाट आफू पनि अत्यन्त उत्साहित भएको उहाँले वताउनुभयो । 
अध्यक्ष ओलीले गठबन्धन देशका लागि अभिशाप भएकाले देश र जनताका लागि  आगामी निर्वाचनमा एमालेले विजय प्राप्त गरी सरकारमा जानैपर्ने वताउनुभयो । उहाँले देउवा, प्रचण्डसँग देश बनाउने कुनै योजना नभएको वताउँदै देशको अवस्था सुधार्ने काममा यिनीहरू विरामीका लागि नक्कली औषधी जस्तै हुन् भन्नुभयो ।


अध्यक्ष ओलीले निर्वाचनपछि पनि गठबन्धन बनाएर जान्छौं भन्ने सत्तामा रहेका दलले छुट्टाछुट्टै घोषणापत्र जारी गरेबाट उनीहरूका घोषणापत्र कार्यान्वयन गर्न होइन, जनतालाई ढाट्न ल्याइएको हो भन्ने स्पष्ट हुन्छ भन्नुभयो ।
अध्यक्ष ओलीले घरमा आगो लगाएर काँग्रेसको पालीमा झोला विसाउन पुगेकाहरूलाई जनताले दण्ड दिने छन् भन्नुभयो । 
गठबन्धन दलहरू निर्वाचनबाट आत्तिइसकेको र मतदानबाट जित्ने नदेखिएपछि कुटपिटमा उत्रन थालेको वताउँदै उहाँले गोरखामा भएको आक्रमणको निन्दा र भत्र्सना गर्नुभयो । 
अध्यक्ष ओलीले आक्रमणकारीलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गर्दै निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो । 
जनताले मतदान गर्दा कुनै डर धम्कीको अवस्था हुनुहुँदैन भन्दै उहाँले प्रचारका क्रममा आक्रमण गर्ने, खाना खाइरहेकामाथि आक्रमण गर्ने, घरमा बसेकालाई आतङ्कित पार्ने जस्ता कार्य भइराखेकाले यस्तो अवस्थाको अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । 
एमालेको नेतृत्वमा सरकार गठन भएपछि २० वटा कामको सुनिश्चितता गरिएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो–‘गर्भावस्थादेखि जीवन पर्यन्तसम्म नागरिकका लागि एमाले सरकारले गर्ने काम घोषणापत्रमार्फत ल्याइएको छ । महिलाका लागि सुरक्षित महिनावारी कार्यक्रम अन्तर्गत सेनेटरी प्याड खरिद गर्न बार्षिक एकहजार पाँचसय रुपियाँ दिइने छ ।’ उहाँले एमालेको सरकार भएको समयमा मेलम्ची पानी काठमाडौं ल्याउन सफल भएको, भूकम्पले लडेको धरहरा निर्माण गरिएको, देशलाई सुरुङमार्गको युगमा लगिएको, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएको लगायत विकास निर्माण र जनहितका काम गरेको चर्चा गर्नुभयो । 
एमालेले ज्येष्ठ नागरिकलाई भत्ता दिने कामको शुरुवात गर्दा कनिका छरेको भनेर विरोध गर्नेहरू अहिले भत्ता पाउने ज्येष्ठ नागरिकको उमेर घटाएर अनुचित प्रतिस्पर्धा गर्न थालेको अध्यक्ष ओलीको भनाई थियो ।  
कार्यक्रममा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘वादल’, उपाध्यक्ष तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, चितवन निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेल, निर्वाचन क्षेत्र नं. ३ का एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले पनि बोल्नुभएको थियो । कार्यक्रम नेकपा (एमाले) जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।