detail-img

‘अहिले सत्तामा जाने विषय एमालेको प्राथमिकतामा छैन’ 

पोखरा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनप्रति जनताको विश्वास नभएको र एमालेसँग देशको नेतृत्व गर्ने जनादेश नभएकाले मुलुक समस्यामा फस्न सक्ने वताउनुभएको छ ।
प्रेस चौतारी कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नयाँ जनादेशले मुलुकमा  झन् अस्थिरता निम्तिएको धारणा राख्नुभयो । 
‘मुलुकलाई सही ढङ्गले अगाडि बढाउन नेकपा (एमाले) र नेपाली काँग्रेसका  बीचमा कार्यगत सहकार्य आवश्यक भएको तर अहिलेको गठबन्धन रहँदासम्म त्यो सम्भव नभएको र यसमा नेपाली काँग्रेस तयार छैन,’ महासचिवले भन्नुभयो– ‘देशको राजनीति दुई पार्टीमा धुव्रीकरण नहुँदासम्म राजनीतिक स्थायित्व कायम हुन सक्दैन ।’ 
उहाँले आन्तरिक कारणले मात्र नभई एसियामै अस्थिरता देख्न र ल्याउन चाहने शक्तिका कारण नेपालमा पनि अस्थिरता निम्तिएको विचार व्यक्त गर्नुभयो ।
उहाँले पत्रकारको जिज्ञासामा तत्काल एमाले र काँग्रेस मिलेर नयाँ सरकार बनाउने सम्भावना नभएको स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले गठबन्धनले निकास दिन नसक्ने भन्दै देशको विकास र समृद्धिका लागि बलियो शक्ति नै आवश्यक हुने कुरा जनतालाई भनिरहने बताउनुभयो । एमालेको नीति र कार्यक्रम राम्रो हुँदाहुँदै पनि जनतालाई बुझाउन नसक्नु कमजोरी भएको उहाँको भनाई थियो । महासचिव पोखरेलले एमालेलाई सत्तामा जाने जनादेश नभएकाले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको स्पष्ट गर्नुभयो ।