detail-img

हामी जहाँ रहे पनि देश र जनताको पक्षमा उभिनेछौंः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको र सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको सन्दर्भमा २०७९ पुस ५ गते मङ्गलबार राजधानीमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्यो ।  
विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको शान्तिपूर्ण महासङ्ग्रामपछि उल्लासपूर्ण वातावरण लिएर उच्चमनोबलका साथ भेला भएको वताउनुभयो । 
उहाँले निर्वाचनमा पार्टीविरूद्ध जस्तो षडयन्त्र, अफवाह थियो, त्यसलाई चिरेर एमाले सर्वाधिक लोकप्रिय पार्टी भएको वताउँदै आगामी दिनमा महान सफलताका लागि जुट्ने सङ्कल्पका साथ भेला भएका छौं भन्नुभयो । 
अध्यक्ष ओलीले यतिवेला मुलुकमा सरकार गठनको नाममा कसले कुन पद प्राप्त गर्ने भन्ने भद्दा कसरत भइरहेको वताउँदै देशका लागि यो दुःखद मात्र नभई डरलाग्दो सङ्केत भएको वताउनुभयो । उहाँले सरकार गठनमा फेरि पनि लेनदेन र सेटिङको आशङ्का व्यक्त गर्नुभयो ।

  
नेकपा (एमाले) सत्ता वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, विकास, सुशासन, सामाजिक न्यायका साथै देश र जनताका पक्षमा दृढतापूर्वक उभिने वताउँदै अध्यक्ष ओलीले एमाले सत्ता प्राप्तिको भद्दा कसरतका विपक्षमा रहेको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– कस्को नेतृत्वमा र कस्तो सरकार बन्छ भन्ने चिन्ताको विषय होइन, देश र जनताको चिन्ता हो । हामी जहाँ रहे  पनि देश र जनताको पक्षमा आवाज उठाउनेछौं, हाम्रा महान उद्देश्यप्रति समर्पित रहनेछौं । 
उहाँले राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता र अराजकता, सामाजिक विश्रृङ्खलताले ल्याएको साँस्कृतिक विचलन र अर्थतन्त्रको अधोगति एमालेको चिन्ताको विषय हो भन्नुभयो ।   
अध्यक्ष ओलीले मुलुकको यो अवस्थाप्रति सबै राजनीतिक दलहरूलाई  गम्भीरतापूर्वक ध्यान दिन र सुधारका लागि सकारात्मक प्रयासमा केन्द्रित हुन आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो– लोकतन्त्रले सुशासन, सामाजिक न्याय,  विकास र जनतालाई सेवा दिनुपर्छ तर अहिले यि विषय चिन्ताजनक अवस्थामा रहेका छन् र लोकतन्त्र यस्तै रहेछ भन्ने गलत धारणा जनतामा  स्थापित गर्न खोजिएको छ । 
अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले) का विरुद्धमा अहिलेको निर्वाचनमा जस्तो प्रतिकूलता अब आउने छैन, सुन्दर भविष्य सुनिश्चित गर्ने एमालेलाई सर्वाधिक लोकप्रिय पार्टी बनायौं, हामीले हारेका छैनौं, अझ ठूलो विजयका लागि योजनाबद्ध र एकताबद्ध ढङ्गले अगाडि बढौं, हामीलाई कसैले पराजित गर्न सक्ने छैन । 
उहाँले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रूपमा स्थापित गरेको धारणा राख्नुभयो ।
नेपाली जनताले एमालेलाई सात प्रदेशमध्ये छ वटा प्रदेशमा एकनम्बर पार्टी बनाएकामा प्रसन्नता व्यक्त गर्दै मतदातालाई धन्यवाद दिनुभयो । 
अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन नसकेको, बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको वताउनुभयो । 
यसबाट लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा सहयोग पुगेको उहाँको भनाई थियो । 
अध्यक्षले भन्नुभयो– आगामी दिनमा पनि यस्ता अलोकतान्त्रिक, अवाञ्छित र गैरकानुनी क्रियाकलाप रोक्न सकिएन भने लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ ? यस्ता कुराहरूप्रति हामी सजग हुनु र रोक्नु जरूरी हुन्छ ।
सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह 
उहाँले ठूलो चक्रव्यूह तोडेर, त्यसलाई पराजित गरेर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका सदस्यहरूलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिनुभयो । साथै,  प्रतिनिधि सभा र प्रदेश सभामा नवनिर्वाचित सदस्यहरूले अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले सांसदहरूलाई आफूले खेल्नुपर्ने भूमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिनुभयो । उहाँले संसदमा पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोप्रति सचेत गराउनुभयो ।
उहाँले नवनिर्वाचित सांसदहरूलाई अध्ययनशील बन्न, स्पष्टताका साथ प्रस्तुत हुन र टिम–स्पिरिटमा काम गर्न र दलको निर्देशन पालनामा जोड दिन निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले दलले सकारात्मक सोचबाहेक अरू नसोच्ने वताउँदै सांसदहरूलाई हिजोजस्तो अकर्मन्यताबाट संसदलाई जोगाएर अगाडि बढाउन आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने वताउनुभयो ।


कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई नै सङ्कटमा पार्ने गरी गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 
उहाँले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अगाडि बढाउन लागिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।   
कार्यक्रममा पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरूलाई बधाई, सम्मान प्रदान गर्नुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । 
अध्यक्षलाई ‘म्यान अफ द इलेक्शन’ सम्मान
कार्यक्रममा अध्यक्ष ओलीलाई प्रतिनिधि सभा सदस्यमा देशभरका उम्मेदबारमध्ये सबैभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएकोमा पार्टीका तर्फबाट ‘म्यान अफ द इलेक्शन’ का रूपमा सम्मान प्रदान गरियो । उहाँलाई जेष्ठ कम्युनिष्ट सदस्य विजयलाल श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गर्नुभयो । 
झापा निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको थियो । 
क्लीन स्वीप गर्ने  तीन जिल्ला सम्मानित

त्यसैगरी मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका सबै उम्मेदवार विजयी गराई  ‘क्लीन– स्वीप’ गर्ने अर्घाखाँची, पर्वत र धनकुटा जिल्लालाई पार्टीले बधाईका साथै सम्मानपत्र प्रदान गरेको छ । त्यस्तै, बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक पार्टीका उम्मेदवारलाई विजयी बनाएकामा सोलुखुम्बु जिल्लालाई पनि बधाई तथा सम्मान पत्र प्रदान गरियो । अध्यक्ष ओलीले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल, पर्वतका अध्यक्ष राजु पौडेल, धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुली र सोलुखुम्बुका अध्यक्ष टुककुमार बास्तोलालाई सम्मानपत्र प्रदान गर्नुभयो ।


त्यसैगरी जेष्ठ कम्युनिष्ट सदस्य विजयलाल श्रेष्ठलाई पार्टीका तर्फबाट अध्यक्ष ओलीले दोसल्ला ओढाई सम्मान गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका भाइ हुनुहुन्छ । 
कार्यक्रममा निर्वाचन परिणामको विश्लेषणात्मक भिडियो प्रस्तुत गरिएको थियो । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित हुनुभएको छ । 
कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।