detail-img

एमालेको अग्रसरता र समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  प्रधानमन्त्री नियुक्त हुनुभएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान–२०७२ को धारा ७६ को उपधारा २ बमोजिम २०७९ पुस १० गते प्रचण्डलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि लिएको अग्रसरतामा सफलता हासिल गरेको छ । 
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको छलफलबाट विभिन्न सात गैर काँग्रेसी राजनीतिक दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेपछि अध्यक्ष ओली लगायतका नेताहरू प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिको दावी पत्रसहित राष्ट्रपति भवन, शीतल निवास जानुभएको थियो ।  
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज अपरान्ह ४ बजे हुने तय भएको छ । उहाँ देशको ४४ औं प्रधानमन्त्री हो । 
राष्ट्रपति भण्डारीले दलहरूलाई एकसाताको समय दिई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । उक्त समयावधिको अन्तिम दिन आइतबार विभिन्न दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्डको नेतृत्वमा सरकार गठनको दावी गरिएको थियो ।  
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहको समर्थन रहेको छ ।