detail-img

अध्यक्ष ओलीसँग स्विट्जरल्याण्डका राजदूतद्वारा भेट 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेल्लर विकले भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार भएको भेटमा उहाँहरूबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक सम्बन्धका साथै राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा कुराकानी भएको थियो । 
सो अवसरमा अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्थालाई माथि उठाउनु वर्तमान सरकारको प्रमुख लक्ष्य हुने वताउँदै यसमा सबैबाट सहयोगको अपेक्षा राख्नुभयो । अध्यक्ष ओलीले विधि, मूल्यमान्यता, सुशासन, भ्रष्टाचारहित लोकतन्त्र चाहेको बताउनुभयो । उहाँले देशमा गरिबी उन्मूलन गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका  विषयमा ध्यान केन्द्रित रहने बताउनुभयो । अध्यक्ष ओलीले देशको विद्यमान अवस्थामा उल्लेखनीय सुधार ल्याउनका निम्ति आवश्यक कदम चालिने बताउनुभयो ।
राजदूत विकले स्वीस सरकार तथा अन्य युरोपेली मुलुकहरू नेपालमा  लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुुभयो । उहाँले स्विट्जरल्याण्डले प्रबिधि, अन्वेषण र इन्जिनियरिङमा लगानी गरी नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो । राजदूत विकले नेकपा (एमाले) ले प्रदेशको मुद्दालाई महत्व दिएकोमा खुशी व्यक्त गर्नुभयो । यसबाट स्थानीय नागरिकले विभिन्न विषयमा अवसर पाउनुका साथै साना साना कुराहरू प्रदेशबाट नै समाधान हुने भई उनीहरूको जीवनस्तर सुधारका लागि मद्दत पुग्ने उहाँको भनाई थियो । भेटमा सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउने बारेमा पनि छलफल भएको थियो । भेटमा नेकपा (एमाले) विदेश मामिला  विभाग सचिव डा. अन्जान शाक्य पनि उपस्थित हुनुहुन्थ्यो ।