detail-img

खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनुशासित समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका रहने हुँदा खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने वताउनुभएको छ । 
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले खेलले अनुशासन सिकाउन असाधारण काम गर्ने र अनुशासनले मानिसलाई सफल बनाउने बताउनुभयो । 
‘हाम्रो समाजमा शिक्षा, स्वास्थ्यसँगै अनुशासनको आवश्यकता रहेको छ, दैनिक, व्यावहारिक र सामाजिक जीवनमा ‘फाउल’ नखेल्ने समाजको आवश्यकता छ’ चर्चा गर्दै अध्यक्ष ओलीले राजनीतिमा पनि धेरै ‘फाउल’ खेल्दा ‘रेडकार्ड’ पाइने वताउनुभयो ।  
खेलकुदको माध्यमबाट विदेश सम्बन्ध र मित्रता विस्तार गर्न सकिने उहाँको भनाई थियो ।  
खेल र अनुशासन एक–अर्काका अभिन्न अङ्ग भएको वताउँदै अध्यक्ष ओलीले बालबालिकाहरूलाई उचित संरक्षण र अवसर प्रदान गरेर सफल नागरिक बनाउनुपर्नेतर्फ सरकार लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने वताउँदै उहाँले मन्त्रिपरिषद् विस्तारपछि आफूले पनि सरकारलाई यस क्षेत्रका विषयमा ध्यानाकर्षण गराउने वताउनुभयो । 
‘मदन भण्डारी स्पोर्टस् एकेडेमीले शिक्षा, खेल, व्यायाम सँगसँगै लिएर जान सकोस्, एउटा अत्यन्त सफल खेल संस्थाका रूपमा स्थापित र विकसित हुन सकोस्’ अध्यक्ष ओलीले शुभकामना व्यक्त गर्नुभयो ।