काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीले वनाएको वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । अध्यक्ष ओलीले सरकारलाई राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सफल बनाइने बताउनुभयो ।
वर्तमान सरकारलाई विश्वासको मत लिन नपाउँदै ढाल्ने खेल भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभामा पार्टीका सांसदहरूलाई पुस २६ गते निर्धारित समयमै संसद बैठकमा उपस्थित भई विश्वासको मत दिने दिलाउने काम गर्न निर्देशन दिनुभयो ।
नेकपा (एमाले) को संघीय संसदीय दल / संसदीय विभागले सांसदहरूका लागि आज राजधानीमा आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले छिमेकी मित्रहरू र नेपाली काँग्रेस अहिलेको सरकार ढाल्ने खेलमा लागेकाले सचेत रहन आग्रह गर्नुभयो ।
‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन, पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्छ ? फेरफार गर्नुपर्छ भनेर लागेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो– हामीले हाम्रो राष्ट्र आफ्नो ढङ्गले चलाउँछौं । जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने, होडल्ने काम नगर्नुस् ।
अध्यक्ष ओलीले छिमेकी मित्रराष्ट्रलाई सार्वभौम समानताको सिद्धान्त अनुसार चल्न आग्रह गर्दै भन्नुभयो– हामी कसैमाथि अर्घेल्याई गरिरहेका छैनौं र हामीमाथि पनि अर्घेल्याईं नहोस् । सरकारले छिमेकी मित्रराष्ट्रहरूसँग सन्तुलित, सुमधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने स्पष्ट गर्दै अध्यक्ष ओलीले नेपालमा जुन सरकार बने पनि त्यससँग मिलेर काम गर्न छिमेकी मुलुकहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई नेकपा (एमाले) ले असाधारण ढङ्गले कोर्स परिवर्तन गरेको वताउँदै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताउनुभयो ।
उहाँले सांसदहरूलाई संसदीय काम प्राथमिकतामा राखेर गर्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसदमा पठाएकाले सांसदहरूलाई जनताका पीरमर्काबारे संसदमा आवाज उठाउन आग्रह गर्नुभयो । उहाँले सांसदहरूलाई संसदीय दलको बैठक र संसदीय गतिविधिमा जतिबेला बोलाइएको छ त्यतिबेला उपस्थित हुन आग्रह गर्दै समय पालनामा ध्यान दिनुपर्ने वताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) संसदीय मामिला विभाग प्रमुख डा. शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरूले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ ।