detail-img

‘सरकारको नेतृत्व गर्न एमालेले जिम्मेवार भूमिका खेल्यो’

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढङ्गले अगाडि बढाएको बताउनुभएको छ । 
बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताउनुभयो । 
नेकपा (एमाले) नेपाली जनताको आकाङ्क्षा र सपना पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्तिका रूपमा उभिएको पोखरेलले बताउनुभयो ।
नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा चौतर्फी घेराबन्दीका बाबजुद पनि नेकपा (एमाले) ले लोकप्रिय मत प्राप्त गरेको उहाँले महाधिवेशनमा जानकारी गराउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘चुनावमा हामीले संसदमा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौं तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूका निरन्तर आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सिट गुमायौं । एउटै दलको सरकार बनाउन संसदमा एउटै दलको बहुमत छैन । त्यसैले जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ 
नेकपा (एमाले) ले बामपन्थी दलहरूलाई एकजुट बनाएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सिर्जना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । ‘हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौं, उच्च नैतिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौं’ – बरिष्ठ उपाध्यक्ष पोखरेलले  भन्नुभयो । 
उहाँले भन्नुभयो– ‘नेकपा (एमाले) लाई नेपाली जनताको समर्थनको बढ्दो लहर र बढ्दो लोकप्रियता हामीलाई उपहारका रूपमा आएका होइनन्, हाम्रो सङ्घर्ष, धैर्यता र हाम्रा मार्गदर्शक सिद्धान्त र कार्यक्रमहरू–जनताको बहुदलीय जनवाद र हाम्रो राष्ट्रिय महत्वाकांक्षा–समृद्धिको उपलब्धिका रूपमा आएका हुन् ।’ 
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) लाई महाधिवेशनमा आमन्त्रण गरेकोमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आभार व्यक्त गर्नुभयो । 
सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै उहाँले बंगलादेशले विगतका वर्षहरूमा गरेका उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी लागेको बताउनुभयो । नेपाल र बंगलादेशबीच ५० वर्षको समस्यामुक्त र उत्कृष्ट कूटनीतिक सम्बन्ध रहेको उहाँले बताउनुभयो । दुवै देश कठिन समयमा एकसाथ उभिएको र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा एकअर्कालाई समर्थन गरेको बताउनुभयो ।