धुलिखेल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन गरेर आफ्नो सरकार आफै बनाउने एमालेको प्रयास सफल भएको वताउँदै सरकारलाई सफल बनाउनु पार्टीको पहिलो कर्तव्य हो भन्नुभएको छ ।
नेकपा (एमाले) का जनसंगठनहरूको सुदृढीकरणका लागि काभ्रेको धुलिखेलमा आज शुरु भएको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) लाई सिध्यायौं भनेर दङ्ग परे पनि एमाले रक्तबीज भएकाले अझ मजबुत हुने बताउनुभयो । काँग्रेसले गठबन्धनको बल र बुथ कब्जा गरेर एमालेभन्दा केही सिट बढी जिते पनि जनताले लोकप्रिय मतमा नेकपा (एमाले) लाई पहिलो बनाएको उहाँले बताउनुभयो ।
पार्टीका जनसंगठनहरू जुझारू हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘पोखरीमा जमेको पानी जस्तो होइन, झरना जस्तो हुनुपर्छ संगठन । मकैको ढोड जस्तो होइन, जनसंगठन कटबाँस जस्तो बलियो हुनुपर्छ ।’
पार्टीबाट निर्देशित, पार्टीका नीति, विचार र सिद्धान्त बोक्ने, विकृति र विसङ्गतिविरुद्ध जनसंगठन सशक्त हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
नेकपा (एमाले) का नौलाख सदस्यहरू जनताको घर घर पुगेर आगामी निर्वाचनमा एक्लै ठूलो र पहिलो पार्टी बन्ने गरी लाग्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले पार्टी भन्दा पहिला जनसंगठन जन्मिएको वताउँदै त्यसको संरक्षण मात्रै होइन, पार्टीको मियोका रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वदलिएको परिस्थितिमा जनसंगठनको भूमिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यशाला गोष्ठीमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, थममाया थापा र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संयन्त्रका प्रमुख भानुभक्त ढकालले गर्नुभएको थियो । कार्यशालामा सबै जनसंगठनका पदाधिकारीहरूको सहभागिता रहेको छ ।