काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ जनादेशका आधारमा गठन भएको वर्तमान सरकारलाई सफल पार्ने बाहेक अर्को विकल्प नभएको वताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा केही काम गरेर देखाउन चाहेको प्रसङ्ग जोड्दै महासचिव पोखरेलले नेकपा (एमाले) ले वर्तमान सरकारलाई सफल बनाउन अधिकतम कोशिश गर्ने वताउनुभयो ।
आज नेकपा (एमाले) केन्द्रीय विज्ञान तथा प्रविधि विभागको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– एमाले र माओवादी बीचको सत्ता सहकार्य तोड्ने खेल शुरू भइसकेको छ ।
मुलुकमा अस्थिरता रोक्न र स्थायित्वका लागि नेपाली काँग्रेससँग पनि संयुक्त सरकार गठनका लागि एमालेबाट प्रस्ताव गरिएको वताउँदै काँग्रेसले रूचि नदेखाएपछि स्वाभाविक रूपमा पाँचदलीय गठबन्धन छोडेर आएको माओवादीसँग सरकार गठन गर्ने सहमति भएको स्पष्ट गर्नुभयो ।
सरकार गठनमा सफलता मिले पनि सरकारका सामु चुनौतीहरू अरू ज्यादा बृद्धि भएको र नेपाली काँग्रेस अहिलेको सत्तासमीकरण भत्काउने उपयुक्त अवसरको खोजीमा रहेको महासचिव पोखरेलले वताउनुभयो ।
वर्तमान सरकार केही काम गरौं भन्ने चाहना राख्नेहरूको साझेदारी भएको वताउँदै यसलाई ऊर्जाका रूपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले) दलहरूबीच नीतिमा आधारित सहकार्यमा जोड दिने वताउँदै नेकपा (एमाले) र माओवादी केन्द्रबीचको सहकार्य पनि क्रमशः त्यही दिशामा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले सरकार सञ्चालनको मार्गदर्शनका रूपमा रहेकोे न्यूनतम साझा कार्यक्रममा नेकपा (एमाले) ले उठाएका राष्ट्रिय मुद्दा सहमतिका साथ समावेश गर्न सफल भएको वताउनुभयो ।
बैठक पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख टंक कार्कीको अध्यक्षतामा बसेको थियो ।
बैठकले आगामी फागुनको दोस्रो साता विज्ञान प्रविधि क्षेत्रका विज्ञहरूको भेला आयोजना गर्ने तथा डिजिटल नेपालको अवधारणा कार्यान्वयनका निम्ति राष्ट्रिय गोष्ठी आयोजना गर्ने निर्णय गरेको विभागका सचिव सन्जिव रोकाले जानकारी दिनुभयो ।