detail-img

प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदद्वारा विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट अत्यधिक बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ । 
उहाँलाई प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जना सदस्यले विश्वासको मत दिनुभएको छ । उहाँको विपक्षमा दुई मत परेको छ । 
सदनमा बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो । 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदमा दोस्रो ठूलो दल नेकपा (एमाले) को अग्रसरता र पहलमा पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार सात दल र तीन स्वतन्त्र सांसदका साथै नेपाली काँग्रेसका सांसदहरूले पनि विश्वासको मत दिनुभएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । 
राष्ट्रिय जनमोर्चा र नेमकिपाका दुई सांसदले विपक्षमा मतदान गर्नुभयो । नेपाली काँग्रेसका तीनजना सांसद अनुपस्थित रहनुभयो भने एकजना निलम्वित हुनुहुन्छ । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा मतदानमा सहभागी हुनुभएन ।