एमाले आज

देश ऐठनमा छः अध्यक्ष केपी शर्मा ओली 

१ साउन (२०८३), ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताउनु भएको छ । पार्टीको वेबसाइट cpnuml.org को नविन संस्करण सार्वजनिकीकरणमा शुक्रबार अध्यक्ष ओलीले भन्नुभयो– ‘समाजमा कानुन बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले नै गरेको छ । संसद लगायत राज्यका तीनवटै अङ्ग कार्यकारी नियन्त्रित छ ।’
सडकमा विरोधको आवाज उठाउनेहरुलाई सरकारले नै सिभिल डे«समा मानिस पठाएर आक्रमण गर्न लगाउने तयारीमा रहेको अध्यक्ष ओलीले बताउनु भयो । देश फाँसिवाद उन्मुख रहेकाले सत्यमा उभिएर यो स्थितिलाई तोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  
एमाले अर्काको सहारा बिना उठ्नै नसक्ने लहरो नभई आफ्नै बुतामा उभिएको स्वतन्त्र र विशाल वृक्ष भएको अध्यक्ष ओलीले बताउनु भयो । एमाले परिस्थितिसँग आत्तिने वा प्रतिकूलतामा निराश हुने पार्टी नभएको उहाँले प्रष्ट्याउनु भयो ।
अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने ‘महागोएबल्स शैली’ हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिक राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको राणनीतिक विषय भएको उहाँले बताउनुभयो । 
सूचना प्रविधिको (आईटी) प्रतिस्पर्धामा पार्टी केही पछि परेको स्वीकार गर्दै अध्यक्ष ओलीले अब आफ्ना कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने बताउनुभयो ।  
पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले युवा पुस्तालाई सूचना प्रविधिको प्रयोगबाट पार्टीको सही वैचारिक धारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । वेबसाइटको सार्वजनिकीकरणको आयोजना केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको थियो । कार्यक्रममा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले वेबसाइटको नवीन संस्करणका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पार्टी पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरुका साथै जनसंगठनका पदाधिकारीहरुको सहभागी थियो । 

 

हामीसँग जोडिनुहोस्