एमाले आज

मुलुकको राजनीति दिशाहीन अवस्थामाः अध्यक्ष ओली 

३ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) संसदीय मामिला विभागद्वारा आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले गत भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको बताउनुभयो । 
लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने षड्यन्त्रबाट सुरु भएको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन् तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीको आधारबाट बनेको हो ।
विध्वंशको पूर्णताका रुपमा बनेको वर्तमान सरकारबाट अराजकतावादमा राज्य सञ्चालन भइरहेको उहाँको भनाइ छ । 
मुलुकको राजनीतिलाई यस अवस्थाबाट फर्काउनुपर्ने बताउँदै अध्यक्ष ओलीले यस प्रयासमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले सामाजिक सञ्जालमा उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सामाजिक सञ्जालले असामाजिक ढङ्गले काम गर्ने र समाजमा भयानक ढङ्गले विकृति फैलाउने काम गरेका छन् । 
कार्यक्रममा महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति, निर्णय आत्मसात गर्दै र पार्टीको दीर्घकालीन हितलाई ध्यानमा राखेर संसदमा भूमिका प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 
उहाँले सांसदहरूलाई विषयबस्तुको प्रस्तुतिमा पार्टीको दृष्टिकोण, चुनावी घोषणापत्रका विषयबस्तु र आफूले प्रतिनिधित्व गर्ने बर्ग र समुदायको हितलाई ध्यान दिन पनि सुझाउनुभयो । 
महासचिव पोखरेलले जनमत बदल्न सकिने चिज भएको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी संगठित र एकताबद्ध रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 
पार्टीका सचिव तथा संसदीय मामिला विभाग प्रमुख पद्मा अर्यालले संसदको भूमिकालाई प्रभावकारी र परिणाममुखी बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
अहिलेको विशेष अवस्थाको संसदलाई विशेषनै बनाउन चाहेको बताउँदै नेकपा (एमाले) संसदीय दलकी उपनेतासमेत रहेकी अर्यालले जनताका सवाललाई संसदमा प्रस्तुत गर्दा प्राज्ञिक, बौद्धिक र तार्किक कसरी बनाउन सकिन्छ ? सांसदहरूको प्रस्तुति ओजनदार कसरी बनाउन सकिन्छ ? त्यसका लागि अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो । 
कार्यक्रममा संसदका पूर्वसचिव हर्कराज राईले संसदको प्रभावकारिताका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सांसदहरुलाई बलियो फिडब्याकको आवश्यकता रहेको बताउनुभयो । 
अन्तरक्रियामा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभामा पार्टीका प्रमुख सचेतकहरूले त्यहाँ पार्टीको उपस्थिति र भूमिकाका बारेमा आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो भने स्थानीय तहको प्रतिनिधित्व गर्दै दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र विज्ञका तर्फबाट जुद्ध गुरुङले आ–आफ्ना अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, उपाध्यक्ष रघुजी पन्त, उपमहासचिवद्वय लेखराज भट्ट र योगेश भट्टराई, सचिवहरू, पूर्व पदाधिकारीहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने सांसदहरु, पार्टीको केन्द्रीय विभागका प्रमुख र विभागका केही पूर्व सदस्यहरू र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।   

 

हामीसँग जोडिनुहोस्