१९ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले), परराष्ट्र मामिला विभागले परराष्ट्र मामिलामा कलम चलाउने पत्रकारहरुसँग सोमबार (साउन १८) अन्तरक्रिया सम्पन्न गरेको छ ।
नेपालको परराष्ट्र सम्बन्धका बारेमा पार्टीका तर्फबाट विभाग प्रमुख प्रदीप ज्ञवालीले धारणा राख्दै सन्तुलित, नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेको र आर्थिक विकासलाई गति दिने परराष्ट्र सम्बन्ध अघि बढाउनुपर्नेमा आफ्नो पार्टी सधैँ स्पष्ट रहेकोमा जोड दिनुभएको थियो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले परराष्ट्र मामिलामा सिङ्गो देशको एउटै धारणा (भ्वाइस) हुनुपर्ने तर सरकार र दलहरूबीच संवादहीनताको अवस्था हुन विडम्बना भएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले वर्तमान सरकारले अवलम्बन गरेको परराष्ट्र सम्बन्धले नेपालको राष्ट्रिय छवि प्रबद्र्धन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै परराष्ट्र सम्बन्धका बारेमा राजनीतिक दलहरुबीच छलफल र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी, वर्तमान सरकारले सत्ता सम्हालेपछि दुबै छिमेकीहरुसँगको सम्बन्ध ठीक हिसाबमा बढ्न नसकेको, मर्यादाक्रम (प्रोेटोकल) का नाममा अनावश्यक रुपमा चर्चा गरिएको, काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाए पनि तीन महिनादेखि दूतबासहरु रिक्त रहेको, हचुवाका भरमा महादेश नै खाली हुने गरी दूताबास घटाउने निर्णय गरेको, नेपालको सीमाका सम्बन्धमा प्रधानमन्त्रीले हचुवाका भरमा बोलेको, पारदर्शी भेटघाट र भ्रमणको साटो अपारदर्शिता बढेको, आर्थिक विकासमा टेवा पुग्ने गरी कूटनीति सञ्चालन गर्न नसकेको जस्ता टिप्पणीहरु गरेका थिए ।
विपक्षी दलका रुपमा यस्ता कुरामा सरकारलाई रचनात्मक दबाब दिन एमालेलाई सहभागीहरुले सुझाव दिएका थिए । परराष्ट्र मामिलाका बारेमा अरु दलहरुसँग पनि कुराकानी गर्न पनि सहभागीहरुले पार्टीलाई सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै पार्टीका केन्द्रीय सदस्य तथा विदेश मामिला विभागका सदस्य विष्णु रिजालले परराष्ट्र मामिला विभागले सबैसँग समन्वय गरेर नेपालको राष्ट्रिय हित अनुकूल हुने गरी सम्बन्ध सञ्चालनमा आफ्नो तर्फबाट योगदान गर्ने जानकारी दिँदै जिम्मेवार पार्टीका रुपमा आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यको पनि उपस्थिति थियो ।
विभागले परराष्ट्र मामिलामा काम गरिरहेका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा मूलधारका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
परराष्ट्र मामिलामा पत्रकारहरुसँग अन्तरक्रिया सम्पन्न
सेयर गर्नुहोस्
