एमाले आज

वनलाई राष्ट्रिय आय र समृद्धिको बलियो आधार बनाउनुपर्छः महासचिव पोखरेल

सेयर गर्नुहोस्

२४ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वनलाई राष्ट्रिय आय र समृद्धिको बलियो आधार बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । 
सामुदायिक वनका तीन दशकः लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, आत्मसम्मान र समृद्ध नेपाल निर्माण विषयक अन्तरक्रियालार्ई सम्बोधन गर्दै महासचिव पोखरेलले सो धारणा राख्नुभएको हो । 
‘नागरिक समृद्ध नभएसम्म संरक्षण दिगो हुन सक्दैन,’ उहाँले मानवकेन्द्रित दिगो संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– यदि समुदायले वनबाट प्रत्यक्ष लाभ पाउँदैन भने आक्रोशमा आएर डढेलो लगाउने जस्ता घटना हुन सक्छन्, त्यसैले पुरानो नियन्त्रणमुखी दृष्टिकोण बदलेर वनलाई राष्ट्रिय आय र समृद्धिको बलियो आधार बनाउनुपर्छ । 
नेपालको वर्तमान संरक्षण नीति र वन व्यवस्थापन प्रणालीलाई व्यावसायिक र समुदायमा आधारित बनाउनुपर्ने उहाँको भनाइ छ ।  
चेपाङ जस्ता समुदायहरू वनबाट कृषि र स्थायी बसोवासतर्फ रूपान्तरण भइरहेको तथा कुसुन्डा जस्ता लोपोन्मुख समुदायहरू वनमा आधारित जीवनशैली हराउँदा सङ्कटमा परेको बताउँदै राज्यले यस परिप्रेक्ष्यलाई बुझेर नीति बनाउनुपर्ने धारणा महासचिव पोखरेलले राख्नुभयो । 
निकुञ्ज तथा आरक्ष सुरक्षामा फौजी शक्तिको प्रयोगले नागरिक र प्रकृतिबीचको सम्बन्ध टुटाएको र नागरिकलाई सहभागी गराउनुको सट्टा नियन्त्रण गर्दा स्थानीय बासिन्दा पीडित बनेको उहाँको भनाइ थियो ।
काठ उपभोगमा कडा नियन्त्रण गर्दा विदेशबाट आल्मुनियम र काठ आयात भई देशको पैसा बाहिरिएको बताउँदै महासचिव पोखरेलले जिल्लाका वनलाई १० ब्लकमा विभाजन गरी चक्रीय रूपमा काठ उत्पादन र बिक्री गर्ने ‘ब्लक प्लान्टेशन’ मोडल अपनाउनुपर्ने सुझाव दिनुभयो ।
रेड कार्बनबाट डलर आउने आशा व्यावहारिक नभएको र तेस्रो पक्षले लाभ लिएको उहाँले बताउनुभयो । साथै, सामुदायिक वनमा महिला र दलितको सहभागिता सफल भए पनि तराईमा सीमित स्वार्थ समूहले चलखेल गरिरहेको प्रसङ्ग उहाँले उठाउनुभयो ।
सामुदायिक वनको विकाससँगै वनमा बाघको सङ्ख्या बढेर करिब ३५५ पुगे पनि उनीहरूका लागि आहारा र क्षेत्र नपुगेको, निकुञ्जका नियम मानिसका लागि मात्र लागू हुने तर वन्यजन्तु बस्ती छिर्ने गरेकाले समाजमा आक्रोश बढेको महासचिव पोखरेलले बताउनुभयो ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा वर्षा र हिउँ पग्लिने क्रम बढेकाले मनाङ, मुस्ताङ जस्ता क्षेत्रमा वृक्षरोपण गरी भूक्षय रोक्नुपर्ने र हिमाली क्षेत्रलाई निकुञ्ज बनाउने नीतिलाई पुनर्विचार गरी सामुदायिक मोडलमा लैजानुपर्ने उहाँको भनाइ थियो । 
सामुदायिक वन दिवसका अवसरमा नेकपा (एमाले) केन्द्रीय वन तथा वातावरण विभागद्वारा विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा आयोजित अन्तरक्रियामा वन तथा वातावरण विज्ञ डा. आर.सी. लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यपत्रमा डा. लामिछानेले सामुदायिक बनको प्रारम्भ कसरी भयो, नागरिकको आर्थिक स्तर बृद्धि र देशको समृद्धिमा यसको योगदानका साथै यसलाई जनताको बहुदलीय जनवादसँग जोडेर समाजवादको यात्रामा सामुदायिक वनको महत्वका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । अन्तरक्रियामा वन उपभोक्ता विभिन्न समुदाय, कलेज र विद्यालयका विद्यार्थी सहभागी रहेका थिए ।  

हामीसँग जोडिनुहोस्