एमाले आज

अध्यक्ष ओलीद्वारा रोल्पामा पहिरोमा परी निधन हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली

सेयर गर्नुहोस्

२८ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ मा भीषण पहिरो जाँदा १३ जना नागरिक बेपत्ता भएको खबरले अत्यन्तै मर्माहत बनाएको जनाउनुभएको छ । 
अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 
भीषण पहिरोले ११ वटा घर पुरिएर बेपत्ता भएका नागरिकमध्ये हालसम्म चारजनाको शव फेला परेको दुःखद् जानकारी प्राप्त भएको छ भने घटनामा पार्टीका पूर्व केन्द्रीय सदस्य नवीन रोका मगरकी आमा हस्तमा रोका मगर पनि बेपत्ता हुनुभएको छ ।
अध्यक्ष ओलीले बेपत्ता हुनुभएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीब्र र तदारुकताका साथ अघि बढाउन सरकार र स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ । 
उहाँले विपत्तिमा परेका परिवारको सहयोग र राहतमा पूर्ण सेवाभावका साथ तत्काल खटिन पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई निर्देशन गर्नुभएको छ । 
अध्यक्ष ओलीले पहिरो प्रभावित परिवारजनको उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र पुनवासको अविलम्ब व्यवस्था गरोस् भनी सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

हामीसँग जोडिनुहोस्