एमाले आज

विदेशबाट फर्किएका नेपालीको सीप र पुँजी राष्ट्र निर्माणमा लगाउन रिटर्नीमैत्री नीति आवश्यकः महासचिव पोखरेल

सेयर गर्नुहोस्

२८ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । 
रिटर्नी फेडरेसन नेपालद्वारा आयोजित ‘रिटर्नीमैत्री नीति र पुनः एकीकरणः सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विदेशमा हासिल गरेको ज्ञान र दक्षतालाई स्वदेशमै उद्यमशीलतामा बदल्ने वातावरण बनाउन राज्यले ‘रिटर्नीमैत्री’ नीति तथा कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारी र रेमिट्यान्समा आधारित भए पनि त्यसको लगभग ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपालमा आफ्नै उत्पादन पर्याप्त नहुँदा उपभोगका सामान आयात गर्नुपर्ने र यसले गर्दा रेमिट्यान्सबाट आएको पैसा पुनः बाहिरै फर्किने दुष्चक्र चलिरहेको भनाइ राख्नुभयो । 
महासचिव पोखरेलले बैंकहरूमा पर्याप्त वैदेशिक मुद्रा सञ्चिति र नेपाली रुपैयाँको बचत रहे पनि त्यो रकम उत्पादक वा पुँजी निर्माणको क्षेत्रमा प्रवाह हुन नसकेको बताउनुभयो । 
बैंकबाट प्रवाह हुने ठूलो कर्जा गाडी, मोटरसाइकल र घरजग्गाजस्ता अनुत्पादक वा पुनरुत्पादन नगर्ने क्षेत्रमा प्रयोग भइरहेको उल्लेख गर्दै उहाँले बचतलाई पुँजीमा र पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
विदेशका बहुराष्ट्रिय कम्पनी तथा ठूला संस्थाहरूमा काम गरेका नेपालीहरूसँग राम्रो अनुभव र सम्पर्क हुने भएकाले उनीहरूले नेपालमा वैदेशिक पुँजी र प्रविधि भित्र्याउन सूत्रधारको भूमिका खेल्नसक्ने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभयो । राज्यले उपयुक्त नीति र सहजीकरण गरेमा नेपाली डायस्पोराको सञ्जालमार्फत ठूलो पुँजी र प्रविधि हस्तान्तरण सम्भव रहेको उहाँको भनाइ थियो ।
रिटर्नीहरूले उठाएका माग र अपेक्षाहरू जायज रहेको उल्लेख गर्दै महासचिव पोखरेलले नीति र कानुनमार्फत सम्बोधन गर्नुपर्ने र त्यसका लागि रिटर्नी संस्थाहरूले सार्वजनिक बहसमार्फत नीति निर्माताहरूलाई दबाब र वातावरण सिर्जना गर्न सुझाउनुभयो । 
उहाँले भन्नुभयो– कानुन संशोधन वा नयाँ कानुन निर्माणका लागि अवधारणा पत्र तयार गरी सम्बन्धित मन्त्रालय र सांसदहरूलाई बुझाउनुपर्छ ।
महासचिव पोखरेलले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा भित्र्याउन उपयुक्त मौद्रिक तथा वित्तीय नीतिको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । 
नेपाली समाजमा उद्यम–व्यवसाय असफल हुनुको मुख्य कारण व्यावसायिक एवं व्यवस्थापकीय क्षमताको कमी भएको बताउँदै महासचिव पोखरेलले असफलताको सम्पूर्ण दोष राज्यलाई मात्रै दिने प्रवृत्तिको समीक्षा हुनुपर्ने बताउनुभयो । विदेशबाट फर्किएका नागरिकहरूले आफ्नो अनुभव प्रयोग गरी साना–साना सामूहिक व्यवसायबाट सुरुवात गरेर सफलताको उदाहरण प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– विदेशबाट फर्किएका नेपालीले हासिल गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालमा उद्यमशीलताको क्षेत्रमा प्रयोग गर्ने वातावरण राज्यले बनाउनुपर्छ । त्यसका लागि रिटर्नीमैत्री नीति र कानुन निर्माण गर्न अति आवश्यक छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा भएको अन्तरक्रियामा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐन महर, सांसद साजिदा सिद्धिकी, पार्टीका केन्द्रीय सदस्यहरु विशाल भट्टराई,  शान्ता चौधरी, घनश्याम पाण्डे लगायतको उपीसथति रहेको थियो । 

हामीसँग जोडिनुहोस्