एमाले आज

समाजवादले मात्र अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्न सक्छः महासचिव  पोखरेल

सेयर गर्नुहोस्

राष्ट्रिय अपाङ्गता संगठन नेपालको दोस्रो विस्तारित सचिवालय बैठक सम्पन्न 

२८ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, संरक्षण र जीवनस्तर सुधारका लागि राज्य बलियो र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालको सचिवालयको दोस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पुँजीवादी र उदारवादी राज्य व्यवस्थाले अपाङ्गताका मुद्दालाई ‘दाता वा दया’ को विषय मात्र मान्ने तर समाजवादी व्यवस्थाले यसलाई राज्यको अनिवार्य कर्तव्यका रूपमा लिने स्पष्ट पार्नुभयो ।
अस्वस्थ खानपिन, अप्राकृतिक जीवनशैली, रोगव्याधी र दुर्घटनाका कारण पछिल्लो समय जन्मजात तथा जन्मिइसकेपछि पनि अपाङ्गता हुने दर बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । गाउँघरमा अपाङ्गता–मैत्री विद्यालय र पूर्वाधारको अभाव हुँदा अझै पनि धेरै बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुनुपरेको महासचिव पोखरेलको भनाइ थियो ।
वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, बिजुली र खानेपानी जस्ता आधारभूत वस्तुमा कर बढाएर साना र गरिब उपभोक्तामाथि थप मार पारेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले देश उदार पुँजीवाद विचार बोक्नेहरुको हातमा जाँदा अपाङ्गताका सवालहरु कमजोर हुने अवस्था सिर्जना हुँदै गएको बताउनुभयो । नेकपा (एमाले) सरकारमा हँुदा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा केही समाजवादी कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले अपाङ्गताको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूलाई सिद्धान्त, सङ्गठन र सङ्घर्षलाई एकसाथ जोडेर लैजान आग्रह गर्दै  समुदायका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन निर्देशन दिनुभयो । केवल राजनीतिक वा कानुनी अधिकारले मात्र नपुग्ने भन्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनु अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
संगठनका अध्यक्ष जगदीश प्रसाद अधिकारीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सम्पन्न भएको बैठकले संगठित सदस्यता नवीकरण, कार्ययोजना कार्यान्वयन लगायतमा प्रस्तावहरुमा घनिभूत छलफल भएको संगठनका महासचिव रमेश लामाले बताउनुभयो । 
बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य, जनसंगठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराई तथा केन्द्रीय कमिटी सदस्य,राष्ट्रिय अपाङ्गता संगठन नेपालका इन्चार्ज क्रान्ति बुर्लाकोटीको अतिथिका रुपमा उपस्थिति रहेको थियो ।  

 

हामीसँग जोडिनुहोस्