एमाले आज

महासचिव पोखरेलसँग अमेरिकी पूर्वसांसदको भेटवार्ता 

सेयर गर्नुहोस्

२९ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसँग अमेरिकी राजनीतिज्ञ, लोकतान्त्रिक शासन तथा अन्तर्राष्ट्रिय विकास विज्ञ स्टीभ ड्रिहाउसले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता गर्नुभएको छ । 
नेशनल डेमोक्रेटिक इन्स्टिच्यूट (एनडीआइ) का बरिष्ठ सल्लाहकार रहेका अमेरिकी प्रतिनिधिसभाका पूर्वसदस्य ड्रिहाउससँगको वार्तामा महासचिव पोखरेलले लोकतन्त्रको सवलीकरणसँगसँगै युवाहरुमा उद्यमशिलताको विकासमा अमेरिकी कार्यक्रमहरु केन्द्रित हुनुपर्ने बताउनुभयो । 
आर्थिकरुपमा सक्षम भएमा लोकतान्त्रिक अभ्यास सफल हुने बताउँदै नेपालको मूल बिषय आर्थिकरुपमा  कसरी रुपान्तरण गर्ने रहेको उहाँले बताउनुभयो । त्यसका लागि एनडीआईलगायतका संस्थाहरुले भूमिका खेल्नसक्ने उहाँले उल्लेख गर्नुभयो । 
महासचिव पोखरेलले सूचना प्रविधिको विकासले लोकतन्त्र र आर्थिक विकासमा प्रमुख योगदान गरेको तर पछिल्लो समयमा केही निश्चित कम्पनीले विश्व अर्थतन्त्र र राजनीतिलाई नै आफ्नो प्रभावमा राखेको बताउनुभयो । सूचना प्रविधिहरुका खर्बपतिहरुले अमेरिकी निर्वाचनदेखि बिभिन्न देशका निर्वाचनलाई आफू अनुकूल सत्ता निर्माणकालागि समेत लगानी गरिरहेको र त्यसले लोकतन्त्र र अर्थतन्त्रलाई सीमित गरेको उहाँले बताउनुभयो ।
नेपालका सांसदहरुसँग लोकतन्त्र र संसदीय अभ्यासका बारेमा आफ्ना अनुभव साझा गर्न आउनुभएका पूर्वसांसद ड्रिहाउसले अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित पार्न सूचनाप्रविधिको मुख्य योगदान रहेको बताउनुभयो । उहाँले लोकतन्त्र भनेकै नागरिकलाई आधारभूत सेवामा पहुँच उपलब्ध गराउनु रहेको भन्दै त्यसका लागि काम गर्न नसक्ने सरकारमाथि प्रश्न उठ्ने बताउनुभयो ।


 

  

 


 

 

हामीसँग जोडिनुहोस्