२९ साउन (२०८३), काठमाडौं । नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर)ले आज नेपाली समाजको वर्ग विश्लेषण विषयमा विशेष छलफल तथा प्रस्तुति कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा इन्स्पायरका निर्देशक कमिटी सदस्य डा. युवराज खतिवडाले नेपाली समाजको वर्ग संरचना, त्यसमा आएको परिवर्तन तथा समकालीन सामाजिक आर्थिक अवस्थाबारे प्रस्तुति दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, सचिव डा.राजन भट्टराई, विदेश विभाग प्रमुख प्रदीप ज्ञवाली लगायत विभिन्न क्षेत्रका अर्थशास्त्री, समाजशास्त्री तथा विज्ञहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नेपाली समाजको बदलिँदो वर्ग संरचना, आर्थिक असमानता र सामाजिक रूपान्तरणका विविध पक्षमाथि विचार तथा सुझाव प्रस्तुत गरेका थिए ।
यस छलफलले नेपाली समाजलाई हेर्ने परम्परागत दृष्टिकोणमा थप नयाँ आयाम र बहसको आधार निर्माण गर्ने अपेक्षा गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले बताउनुभयो । तथ्य, अनुसन्धान र बहुआयामिक विज्ञ संवादमार्फत समकालीन नेपाली समाज र नीतिगत प्रश्नहरूमा नयाँ दृष्टिकोण विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आउने दिनहरूमा पनि निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
नेपाली समाजको वर्ग विश्लेषण विषयमा छलफल
सेयर गर्नुहोस्
