एमाले आज

कम्युनिष्ट पार्टीहरु नयाँ योजनासहित सहकार्यका साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल

सेयर गर्नुहोस्

३१ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टाढिएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूनिकट जनमतबाहेक अन्य समुदायको पर्याप्त मत पाउन नसकेको स्वीकार गर्दै महासचिव पोखरेलले भन्नुभयो– पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिस्ट जनमत होला जस्तो भयो । पार्टी सदस्य र उसको निकटको जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ, अहिले हामी आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौँ ।
आधारभूत वर्गबाट टाढिनुको कारण खोतल्दै महासचिव पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गराउने विषयमा वामपन्थी शक्तिहरू चुकेको बताउनुभयो ।
नेपालको ठूलो श्रमशक्ति कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारका शिक्षित युवाहरू कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– आफू शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह अन्ततः वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो ।
मुलुकको वर्तमान सङ्कटको प्रमुख कारण शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि पनि रहेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
वर्तमान परिस्थितिमा पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै उहाँले वामपन्थी कार्यकर्तामा उत्पन्न निराशालाई उत्साह र गतिशीलतामा बदल्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा वामपन्थी आन्दोलनलाई अघि बढाउन जनतासँगको सम्बन्ध थप बलियो बनाउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले सरकारको नेतृत्व कम्युनिस्ट पार्टीकै रहेको बेला अपदस्थ हुनुपरेको यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न नसकिने धारणा राख्नुभयो । 
कम्युनिष्ट पार्टीका छजना प्रधानमन्त्री र २१ मुख्यमन्त्री बनेको  नेपालमा वामपन्थी आन्दोलन कमजोर हुनु चानचुने कुरा नभएको महासचिव पोखरेलको भनाइ छ । 
पछिल्लो निर्वाचनमा के कारण जनमत हामीबाट टाढियो भनेर गम्भीर समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले विगतमा फरक राजनीतिक कार्यदिशा लिएर हिँडे पनि वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीबीच सहकार्यको आवश्यकता रहेको धारणा राख्नुभयो । 
उहाँले इतिहासबाट पाठ सिक्नुपर्ने तर भविष्य निर्माणका लागि विगतको भारी बोकेर हिँड्न नहुने विचार व्यक्त गर्नुभयो ।  ‘इतिहासबाट जसले सिक्दैन, सजाय पाउँछ तर भविष्यको निर्माण इतिहासको भारी बोकेर हुँदैन’, महासचिव पोखरेलले भन्नुभयो ।
वर्तमानका समस्या समाधानका लागि नयाँ योजनासहित अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले समय र परिस्थिति परिवर्तन भइसकेकाले समस्याको समाधान खोज्ने तरिका पनि नयाँ हुनुपर्ने भनाइ राख्नुभयो ।

हामीसँग जोडिनुहोस्