१ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनकवि स्व.दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
जनकवि श्रेष्ठको ९१ वर्षको उमेरमा गएराती आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको हो ।
स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली- पत्नी राधिका शाक्य, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, सचिवहरु भानुभक्त ढकाल, डा.राजन भट्टराई, नेता विष्णु रिमाल, केन्द्रीय सदस्य निरज आचार्यसहित स्व. श्रेष्ठको निवास, बुढानीलकण्ठ जानुभएको थियो ।
नेपाली तथा नेपाल भाषा साहित्यका बरिष्ठ सर्जक श्रेष्ठको निधन भएको खबर आएपछि अध्यक्ष ओलीले आजै सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् पनि उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
अध्यक्ष ओलीले फेसबुक पेजमा लेख्नुभएको छ–
नेपाली साहित्यका प्रखर सर्जक, जनकवि दुर्गालाल श्रेष्ठको निधनको खबरले मर्माहत बनाएको छ ।
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ र ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ जस्ता सयौं कालजयी रचनामार्फत उहाँले हाम्रो मनमा कहिल्यै नमेटिने छाप छाड्नुभएको छ । उहाँ अब भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका अमर गीत र कविताहरू सधैँ गुञ्जीरहनेछन् ।
काव्य कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै जनकवि दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
शोकाकुल परिवारजन तथा साहित्यानुरागीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।
जनकवि स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
सेयर गर्नुहोस्
