४ भदौ (२०८२), हेटौंडा । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सांसद किरण थापा मगर नियुक्त हुनुभएको छ ।
बाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री थापाले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६३ सांसदको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
भक्तपुरको निर्वाचन क्षेत्र नं. २ (क)बाट प्रदेश सभा सदस्य निर्वाचित ५० बर्षीय थापा अघिल्लो सरकारमा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
१४ भदौ २०३३ मा जन्मिनुभएका थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । नेकपा (एमाले)मा प्रवेशपछि भक्तपुर जिल्ला कमिटीको सदस्य हुँदै उहाँले उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
