६ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार पाँच वर्षसम्म कुनै हालतमा नटिक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई शनिबार नगरकोटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई त्रास र डरमा राख्नुका साथै बहुमतको नाममा मनपरी गरिरहेको बालेन्द्र साह नेतृत्वको सरकार पाँच वर्ष नपुग्दै ढल्ने बताउनुभयो ।
अराजकताबाट आएको शक्तिलाई लामो समय देशको जिम्मेवारी दिन नसकिने उहाँको भनाइ छ । अध्यक्ष ओलीले वर्तमान सरकारबाट लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको बताउनुभयो ।
वर्तमान सरकारका गतिविधिका कारण जनतामा डर, त्रास र आतङ्क सिर्जना भएको उहाँको भनाइ छ । कसैलाई जेल हाल्ने, बदनाम गर्ने, सम्पत्ति जफत गर्ने वा बैंक खाता बन्द गराउनेजस्ता गतिविधि भइरहेको बताउँदै अध्यक्ष ओलीले सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने धारणा राख्नुभयो ।
रास्वपालाई बहुमत दिएकोमा जनतामा पश्चाताप सुरु भइसकेको बताउँदै उहाँले पार्टीका नेता–कार्यकर्तालाई सरकारविरुद्धको परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । कार्यशालामा पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराई, नेकपा (एमाले) बाग्मती प्रदेश अध्यक्ष केलाश ढुंगेल लगायत नेताहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
