११ भदौ (२०८३), काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली आज नुवाकोट प्रस्थान गरेको छ । महासचिव पोखरेल सर्वदलीय बैठकमा सहभागी भई सिधै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको हो ।
टोलीमा पार्टीका पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव डा.राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ हुनुहुन्छ ।
त्यसैगरी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक÷प्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे ( अप्रा), जनसंगठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराई तथा केन्द्रीय युवा तथा खेलकुद विभाग प्रमुख अमित लामासमेत निरीक्षण टोलीमा सहभागी हुनुहुन्छ । टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण, स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने, स्थानीय तहहरुसँग बाढी पीडितको उद्धार तथा राहत वितरणका बारेमा जानकारी लिने टोलीमा रहनुभएका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताउनुभयो ।
यसैगरी, उच्चस्तरीय टोलीले स्थानीय प्रशासनसँग पनि उद्धार, राहत तथा पुनर्स्थापनाका बारेमा छलफल गर्ने छ । साथै, उद्धार र राहतको काममा जुट्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई परिचालन समेत गरिने छ ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको बुधबार बसेको आकस्मिक बैठकले विपतमा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको भन्दै– नागरिकको ज्यान बचाउन, बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरुलाई स्थानान्तरण र पुनस्र्थापना गर्न र घाइतेहरुको तुरुन्तै उपचार गरी थप हताहत हुन नदिन, मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरु अविलम्ब परिचालन गर्न र तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको थियो ।
त्यस्तै, पार्टीले सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपङ्क्तिमा रहेर खटिन विशेष निर्देशन गरेको थियो ।
