एमाले आज

नेकपा (एमाले) राजधानी प्रदेशद्वारा बाढी प्रभावितको राहतका लागि दश लाख सहयोग घोषणा 

सेयर गर्नुहोस्

११ भदौ (२०८३), काठमाडौं । हिमताल विष्फोट भई भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले दुःख व्यक्त गर्दै  बाढी प्रभावितहरुको राहतका लागि रु दशलाख सहयोग गर्ने भएको छ । 
नेकपा (एमाले)का सचिव एवं राजधानी प्रदेश इन्चार्ज डा. राजन भट्टराईको उपस्थितिमा आज विहान बैठकले उक्त निर्णय गरेको हो । बैठकले यस कमिटी र मातहत कमिटीमा आवद्ध उद्यमी व्यवसाायीहरुबाट खाद्यान्न राहत सङ्कलन गरी रसुवा, नुवाकोट र धादिङ् जिल्ला कमिटीहरुसँग समन्वय गरी प्रभावित घर परिवारमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । 
राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा बसेको बैठकमा राजधानी प्रदेश कमिटी पदाधिकारीहरु, मातहत जिल्ला कमिटीहरु काठमाडौं, ललितपुर, भक्तपुर, पेशागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी जिल्ला कमिटी इन्चार्ज तथा अध्यक्षहरुको उपस्थिति रहेको थियो । 
बैठकले विनाशकारी बाढीका कारण जीवन गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारजनमा समवेदना व्यक्त गरेको छ । राजधानी प्रदेशले यस विपद र शोकको घडीमा राजधानी प्रदेश र मातहत कमिटीहरुबाट तय गरिएका सार्वजनिक सभा, सम्मेलन, मेला, महोत्सव जस्ता सम्पूर्ण कार्यक्रमहरु एक सातासम्म स्थगित गर्न र राहत तथा उद्धार र सहयोग परिचालन कार्यमा परिचालित हुन सम्पूर्ण कार्यकर्ता सदस्य पङ्क्तिलाई निर्देशित गरेको छ । 
बैठकपछि राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी विज्ञप्तिमा– यस राष्ट्रिय विपदमा राष्ट्रिय एकता, सहृदय र सहयोगको नेपाली पहिचानलाई पुनः प्रमाणित गर्न जरुरी रहेको निष्कर्षसहित सरकारलाई सबै पक्षलाई विश्वासमा लिई समन्वय तथा सहकार्य गर्दै तत्काल उद्धार, राहत तथा सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न अपिल गरेको छ । 

हामीसँग जोडिनुहोस्