११ भदौ (२०८३), काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सिर्जित विपद्को उद्धार, राहत र पुनरुत्थानका लागि आज भएको सर्वदलीय बैठकमा नेकपा (एमाले) को तर्फबाट महासचिव शंकर पोखरेलले भाग लिनुभयो । सर्वदलीय बैठकमा महासचिव पोखरेलले निम्न बुँदाहरूमा पार्टीको धारणा राख्नुभएको थियो ।
तत्काल खोजी तथा उद्धारः
बेपत्ता नागरिकहरूको खोजी र उद्धार, घाइतेहरूको तत्काल उद्धार तथा उपचार,मृतकहरूको शव खोजी, पहिचान र व्यवस्थापन, घरबारविहीन तथा विचल्लीमा परेका नागरिकहरूको उद्धार, विस्थापितहरूका लागि तत्काल अस्थायी सेल्टर र खानपानको प्रबन्ध ।
विपद्ग्रस्त क्षेत्रको लाइफलाइन जोड्ने सन्दर्भमाः
अवरुद्ध सडक सञ्जाल सुचारु गर्न लेदो सफाइ तथा बेलिब्रिज जडान (विशेषगरी तत्काल रसुवा, धादिङ र नुवाकोटको त्रिशूलीपारिको क्षेत्रमा पुग्ने प्रमुख सडकमा बेलिब्रिज जडान गर्ने) ।
बिजुली बत्ती र सञ्चार सेवा पुनःसञ्चालनः
खानेपानीको प्रबन्ध र डुबानमा परेका बस्तीहरूको सरसफाइ, अस्थायी आवासको निर्माण ।
पुनर्स्थापना तथा पुननिर्माण एवं भावी कार्ययोजनाः
विस्थापितहरूका लागि सुरक्षित बस्ती विकास, हिमाली क्षेत्रमा जलवायु प्रभावको अध्ययन र जोखिमको म्यापिङ, पूर्वसूचना प्रणालीको सुदृढीकरण, अन्तरदेशीय सूचना आदानप्रदानका लागि भरपर्दो संयुक्त मेकानिज्म निर्माण, एकीकृत खोजी, उद्धार तथा राहत वितरण प्रणालीको विकास गर्ने र अनुगमनको सर्वदलीय संयन्त्रको व्यवस्था गर्नुपर्ने ।
महासचिव पोखरेलले सङ्कटको यो घडीमा राजनीतिक दलहरूबीचको यो साझा दृष्टिकोण र ठोस योजनाले राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
