स्थानीयबासीको योजना अनुसार पुनर्स्थापना र पुनःनिर्माणको काम गर्न पार्टीपङ्तीलाई निर्देशन
११ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार, राहत, पुनःनिर्माण तथा पुनर्स्थापनाको काममा खटिने बताउनुभएको छ ।
आज बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै महासचिव पोखरेलले विगतमा ठूला ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेता कार्यकर्ताहरुले व्यापक रुपमा श्रमदान गरेर उद्धार, राहात, पुनर्स्थापना तथा पुनःनिर्माणको काम गरेकाले यस पटक पनि एमाले पूर्णरुपमा यस काममा खटिने बताउनुभयो ।
‘तपाईंहरुले योजना बनाउनुहोस् । यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस् । पार्टीले त्यस्तो जनशक्ति पठाउँछ’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले आवश्यकता भन्दा बढी जनशक्ति आएमा उनीहरुलाई फिर्ता पठाउन आग्रह गर्दै उहाँले भन्नुभयो– अनावश्यक भिडभाडले मूल काम प्रभावित हुन्छ । त्यसैले आवश्यकता भन्दा बढी भिडभाड नगर्नुहोस् ।
महासचिव पोखरेलले उद्धार, राहात तथा बेपत्ताको खोजी गर्नका लागि स्थानीय जनतालाई साथ लिन समेत पार्टी नेताहरुलाई निर्देशन दिनुभयो ।
‘बेपत्ताहरुको खोजीमा लाग्नुहोस्, कोही भेटिएमा स्थानीय प्रशासनलाई खबर गर्नुहोस्, यी सबै कामका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्नुहोस्’, महासचिव पोखरेलले सङ्घीय सरकारबाट गर्नुपर्ने कामको सूचि बनाएर पठाएमा पार्टी केन्द्रले त्यसको समन्वय गर्ने बताउनुभयो ।
‘कतिपय कामहरु राज्यका तर्फबाट नै गर्नुपर्ने हुन्छ, कतिपय स्थानीयबासीको श्रमदानबाट हुन्छ’ भन्दै उहाँले त्यसको पहिचान गरेर काममा लाग्न सुझाउनुभयो ।
महासचिव पोखरेलले पार्टीका स्थानीय कमिटीहरुको काममा समन्वय गर्न र प्रदेश तथा केन्द्रमा नियमित रिपोर्टिङ गर्न नुवाकोट जिल्ला कमिटीलाई निर्देशन दिनुभयो ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डेले जिल्लामा बाढीले पुर्याएको क्षतिको बारेमा महासचिवको टिमलाई जानकारी गराउनुभएको थियो ।
यसैगरी केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले रसुवामा बाढीले गरेको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।
महासचिव पोखरेल नेतृत्वको टोलीले बाढीले क्षतिग्रस्त बनाएको ढुङ्गे बजार, देवीघाट लगायतका ठाउँको निरीक्षण गरेको छ । टोलीले अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य लाभको कामनासहित उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनसँग आग्रह गरेको छ ।
टोलीमा पार्टीका पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव डा.राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ हुनुहुन्थ्यो ।
त्यसैगरी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक÷प्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे ( अप्रा), जनसंगठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराई तथा केन्द्रीय युवा तथा खेलकुद विभाग प्रमुख अमित लामासमेत निरीक्षण टोलीमा सहभागी हुनुहुन्थ्यो ।
