-महासचिव पोखरेल र मुख्यमन्त्री थापाबीच वैकल्पिक व्यवस्था गर्नेबारे छलफल
-उद्धारका लागि निःशुल्क रुपमा ४५ वटा बसको व्यवस्था
-बाग्मती प्रदेश सरकारद्वारा धन्चे र चौगटीमा खानपानको व्यवस्था
१२ भदौ (२०८३), काठमाडौं । रसुवाको सदरमुकाम धुन्चेमा उद्धारको प्रतिक्षामा रोकिएका ठूलो सङ्ख्याका अलपत्र व्यक्तिहरूलाई हवाइमार्गबाट उद्धार सम्भव नभएपछि बाग्मती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरेर मोटरबाटोबाट ल्याउने योजना अघि सारेको छ । धुन्चेमा धेरै मानिसहरु उद्धारको प्रतिक्षामा रहेको अवस्थालाई मध्यनजर गर्दै यो बैकल्पिक व्यवस्था गरिएको हो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धुन्चेमा अलपत्र मानिसको उद्धारबारे बाढीग्रस्त क्षेत्रमा खटिरहनुभएका बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापासँग परामर्श गर्नुभएको थियो । सो अनुसार, प्रदेश सरकारले बैकल्पिक उद्धारका लागि निःशुल्क बस सेवा सञ्चालन योजना अघि सारेको हो । मुख्यमन्त्री थापा बाढी पीडित तथा यात्रा क्रममा अलपत्र परेका जनताको उद्धार र राहतको आवश्यक व्यवस्थापनका लागि आफ्नो टिमसहित यतिबेला रसुवामा हुनुहुन्छ ।
बागमती प्रदेशका मुख्यमन्त्री थापाका अनुसार धुन्चेबाट मोटर प्रयोग गरेर महाविरसम्म यात्रा गर्न सकिन्छ । त्यसका लागि निःशुल्क रुपमा ४५ वटा बसको व्यवस्था मिलाइएको छ । त्यहाँबाट बाँकी खण्डमा चौगटीसम्म करिव पौने दुई घण्टा पैदल हिड्नुपर्ने हुन्छ । चौगटीबाट काठमाडौंसम्म प्रदेश सरकारको योजनामा निःशुल्क बसको व्यवस्था गरिएको छ । यसरी करिव पौने दुई घण्टाको यात्रा गर्न सक्ने अवस्थाका व्यक्तिहरूले बागमती प्रदेश सरकारको योजना अनुरूप आफ्नो गन्तव्यमा एकै दिनमा पुग्न सक्नु हुनेछ ।
यस प्रकारको यात्राका लागि तयार व्यक्तिहरुले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूसँग समन्वय गर्नुहोला । धन्चे र चौगटीमा खानपानको व्यवस्था प्रदेश सरकारले मिलाएको छ । यसरी नै त्रिशूली पारिको भागमा पनि मध्यपहाडी लोकमार्ग सफाइ गरेर यातायात सुचारु गर्ने प्रयास बागमती प्रदेश सरकारले गरिरहेको छ ।
प्रदेश सरकारको प्रयासलाई स्वागतयोग्य भन्दै नेकपा (एमाले)का महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ– विपद्को समयमा बागमती प्रदेश सरकारले देखाएको वैकल्पिक अग्रसरताका लागि साधुवाद !
