एमाले आज

भोटेकोशी बाढी विपदः मृतकका परिबारलाई बाग्मती प्रदेश सरकारले रु.२५ हजार उपलब्ध गराउने

सेयर गर्नुहोस्

-बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यबस्था
-धार्मिक यात्राका क्रममा रहेर अलपत्र परेका तीर्थयात्रीहरूको सुरक्षित आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन
-विपद् व्यवस्थापन कोषमा प्रदेश सरकारले कूल रु ३ करोड उपलब्ध गराउने 


१३ भदौ (२०८३), भक्तपुर । बाग्मती प्रदेश सरकारले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कारका लागि प्रति व्यक्ति रु. २५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ । 
बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भन्नुभयो– भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रति मृतक रु. २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यबस्था गरिरहेको उहाँले बताउनुभयो ।  
भदौ १० गतेदेखि १२ गतेसम्म तीन दिन मुख्यमन्त्री थापाको नेतृत्वमा मन्त्रीहरुसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार तत्कालै परिचालित भएको थियो ।  
उद्धार र राहतलाई छिटो र प्रभावकारी बनाउन बाढीबाट सकुशल उद्धार गरिएका व्यक्ति तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने खर्च पनि बाग्मती प्रदेश सरकारले ब्यहोर्ने मुख्यमन्त्री थापाले बताउनुभयो ।
प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने र खर्च अभावका कारण पहिचान भएका शव पनि आफन्तले घर लैजान नसकेको जानकारी आएपछि त्यसका लागि लाग्ने खर्च बाग्मती प्रदेश सरकारले व्यहोर्ने उहाँले बताउनुभयो । 
प्रदेश सरकारले यसका लागि रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोषमा एक÷एक करोड र धादिङ्ग तथा चितवन जिल्लालाई ५०÷५० लाख गरी प्रदेश सरकारले कूल रु ३ करोड उपलब्ध गराउने जानकारी पत्रकार सम्मेलनमा दिइयो । 
प्रदेश सरकारले गोसाइँकुण्ड, कैलाश तथा अन्य धार्मिक यात्राका क्रममा रहेर अलपत्र परेका तीर्थयात्रीहरूको सुरक्षित आवागमनका लागि दुईदिनदेखि निःशुल्क बस सेवा सञ्चालन गराएको छ । 
बाढीका कारण त्रिशूली–धुन्चे सडकखण्ड, त्रिशुली र धादिङ गल्छी हुँदै काठमाडौँ सडक अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकमार्ग खुलाई यथाशीघ्र सञ्चालनमा ल्याउने कार्य गरेको, भदौ १० गते नै नुवाकोटको विदुरमा विभिन्न चार स्थानमा अस्थायी आश्रयस्थल तथा खानाको प्रवन्ध र चार ठाउँमा हेल्थक्याम्प सञ्चालन गरेको मुख्यमन्त्री थापाले बताउनुभयो । 
पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौैतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले मुख्यमन्त्रीको टोली धुन्चे पुगेपछि डिजेल र पेट्रोल ६०० लिटर लगेर स्थानीय अस्पताल सञ्चालन, यातायत तथा टेलिकम टावर सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो । 
उहाँले सडकमार्गमा रहेका ४० भन्दा बढी पुलहरू भत्किँदा अवरुद्ध आवागमनको वैकल्पिक व्यवस्थाको रुपमा सम्भावित स्थानहरूमा बेलिब्रिज, झोलुङ्गेपुल तथा तुईन निर्माणका लागि स्थान पहिचान र सम्भाव्यता अध्ययन, प्राथमिकता निर्धारण र द्रूत निर्माण कार्यलाई प्रदेश सरकारले अगाडि बढाएको जानकारी गराउनुभयो । 
नुवाकोटको छहरे, चौगडा, बाहुनबेशी, नर्जामण्डप, लच्याङ्, सरमथली पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जीरो किलो, पासाङल्हामु राजमार्ग हुँदै धुन्चेसम्मको वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कार्यलाई तीब्रता दिइएको मन्त्री केसीले बताउनुभयो ।
प्रभावित क्षेत्रमा कार्यरत प्रदेश मातहतका सबै कर्मचारीहरूलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछोड्न र सार्वजनिक विदाको समयमा समेत निरन्तर उद्धार, राहत तथा पुनर्स्थापनामा खटिन निर्देशन दिइएको बताउनुभयो ।  
पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापामगरले बाढीबाट करिब १५ जिल्ला प्रभावित बनेको, स्थिति सोचेभन्दा फरक र कहालीलाग्दो रहेको बताउँदै खोज, उद्धार, राहत वितरण, स्वास्थ्य उपचार, शव व्यबस्थापनदेखि पुनर्स्थापनासम्मको काममा प्रदेश सरकारले पछाडि नहट्ने र सङ्घीय सरकारसंग समन्वय गरी स्थानीय सरकारको साथमा काम गर्ने बताउनुभयो ।

हामीसँग जोडिनुहोस्