-उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरी सहयोग गर्ने घोषणा
-भोटेकोशीको बाढीबाट भएको जनधनको क्षति फर्काउन नसकिए पनि पीडामा रहेका नागरिकको समस्यामा मल्हमपट्टी लगाउने काम हाम्रो हो
-भोटेकोशीमा आएको बाढी– बाढी नभई ‘वार्मिङ’ हो, नेपालले यसै विषयमा अविलम्ब सगरमाथा सम्वादको आयोजना गरी हिमालको भविष्यका बारेमा विश्वका नेताहरु र विज्ञहरुबीच छलफल गर्नुपर्छ
१५ भदौ (२०८३), काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरी सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाढीपीडितका लागि पार्टीको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीद्वारा प्रदान गरिएको १०÷१० लाख रुपैयाँका दुई चेक ग्रहण गर्दै अध्यक्ष ओलीले विपद्को घडीमा नेकपा (एमाले) पीडित नागरिकको साथमा उभिने बताउनुभयो ।
अध्यक्ष ओलीलाई बाग्मती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेल र राजधानी प्रदेशका अध्यक्ष नारायण सिलवालले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
एमालेले आफ्नै स्रोत, जनसहभागिता र सहयोगीहरूको योगदानमार्फत राहत कोष विस्तार गरिरहेको बताउँदै अध्यक्ष ओलीले सबैलाई दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । सङ्कलित रकम आवश्यकता अनुसार प्रभावित क्षेत्रका नागरिकहरूको राहत, आवास पुनःनिर्माण तथा पुनर्स्थापनामा खर्च गरिने उहाँले प्रष्ट पार्नुभयो ।
राहत वितरण प्रभावकारी र छिटो हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितले तत्काल आवश्यक सहायता पाउने व्यवस्था सबैभन्दा महत्वपूर्ण रहेको धारणा राख्नुभयो । सरकारी प्रक्रियागत ढिलाइका कारण राहत वितरणमा अवरोध आउन नहुने उल्लेख गर्दै उहाँले वास्तविक पीडितसम्म प्रत्यक्ष र शीघ्र सहयोग पुराउने मोडालिटी अपनाइने स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो उद्देश्य कोषमा रकम थुपार्ने मात्र होइन, सङ्कटमा परेका नागरिकको जीवन बचाउन र उनीहरूको दैनिक जीवन पुनः सामान्य बनाउन तत्काल सहयोग पुर्याउनु हो ।
विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपालीलाई मानवीय भावनाका साथ सहयोगमा जुट्न आह्वान गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन निजी हेलिकप्टर, तालिमप्राप्त स्वयंसेवक र दक्ष जनशक्तिको अधिकतम उपयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
‘भोटेकोशीको बाढीबाट जनधनको क्षति फर्काउन नसकिए पनि पीडामा रहेका नागरिकको समस्यामा मल्हमपट्टी लगाउने काम हाम्रो हो’ अध्यक्ष ओलीले यस कार्यमा केन्द्रदेखि प्रदेश, पालिका र वडातहसम्मका नेताकार्यकर्ता क्रियाशील हुन आह्वान गर्नुभयो ।
एमालेले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकलाई पनि सहयोग अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
अध्यक्ष ओलीले भोटेकोशीमा आएको बाढी– बाढी नभई ‘वार्मिङ’ हो भन्नुहुँदै नेपालले यसै विषयमा अविलम्ब सगरमाथा सम्वादको आयोजना गरी हिमालको भविष्यका बारेमा विश्वका नेताहरु र विज्ञहरुबीच छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– हामी गम्भीर खतरामा छौं । भोटेकोशीले गरेको भयावह विनाश एउटा सङ्केत हो भन्ने हाम्रो दृष्टिकोण हो ।
आफूले सन् २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभामा जलवायु परिवर्तनले हिमालमा पारिरहेको असरका बारेमा बोलेको स्मरण गर्दै वातावरण विनाशमा योगदान गर्ने विकसित देशहरुले वातावरण जोगाउन योगदान गर्ने हामीजस्ता साना देशलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, सचिवहरु डा. राजन भट्टराई र महेश बस्नेतलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
