काठमाडौं । भोटकोशी नदीले ल्याएको महाविपत्तिपछि यतिबेला यो विषय बर्षादपछिको नियमित र स्वाभाविक बाढी नभई जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बृद्धिको परिणाम हो भन्ने तर्क साझा निष्कर्ष बन्न खोज्दै छ । आठबर्ष अघि सन् २०१८ मा संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएका नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरो ‘ग्लोवल वार्मिङ’को परिणाम हो भन्नेमा विश्वस्त हुनुहुन्छ । अध्यक्ष ओलीले यस विषयमा नेपालले अविलम्ब सगरमाथा सम्वादको दोस्रो श्रृङ्खला आयोजना गरी विश्वसमुदायबीच हिमालको भविष्यका बारेमा छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ ।
गतबर्ष तुर्कमेनिस्तान भ्रमणका अवसरमा तत्कालीन प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरु सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनको साइड इभेण्टमा ‘हिमनदी पग्लिने क्रम र त्यसपछिका चुनौतीहरु’ विषयमा भूपरिवेष्टित विकासशील मुलुकहरुलाई प्रभावित पार्ने जलवायु चुनौतीहरुको गहिरो विश्लेषण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत छ, तत्कालीन प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा गर्नुभएको सम्बोधनः
“हिमनदी पग्लिने क्रम र त्यसपछिका चुनौतीहरू: भूपरिवेष्टित विकासशील मुलुकहरूलाई प्रभावित पार्ने जलवायु चुनौतीहरूको गहिरो विश्लेषण”
महामहिमहरू,
सम्माननीय प्रतिनिधिज्यूहरू,
महिला तथा सज्जनवृन्द,
हिमाली मुलुकका रूपमा हिमनदी पग्लिनु नेपालका प्रमुख चुनौतीमध्ये एक हो।
म बालक हुँदा आफ्नो जन्मथलो अगाडि सेताम्मे हिमालहरू उभिएको देख्थेँ।
आज मेरा कपाल फुलेर सेता हुँदै जाँदा, ती सेता हिमालहरू भने काला चट्टानमा परिणत हुँदैछन् ।
कहिलेकाहीँ म सोच्ने गर्छु—हामीले त्यस्तो के गल्ती गर्यौँ, जसका कारण यस्तो भइरहेको छ ?
तर हामीले कुनै गल्ती गरेका छैनौँ। अरूले गरेका कामको परिणाम हामीले मात्र भोगिरहेका छौँ ।
हाम्रा जनता अझै पनि प्रकृतिसँगको सामञ्जस्यमा जीवन बिताइरहेका छन् ।
हाम्रो कार्बन उत्सर्जन नगण्य छ ।
तर जलवायु परिवर्तनको प्रभाव हामीमाथि अत्यन्त गम्भीर रूपमा परेको छ ।
हामी यसको प्रमुख पीडितमध्ये एक बन्दै गएका छौँ ।
हाम्रा सेता हिमालयहरू काला चट्टानमा परिणत हुँदैछन् ।
महामहिमहरू,
हिमालय केवल तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौँ मानिसका लागि पानी, जीवन र जीविकोपार्जनको स्रोत मात्र होइन ।
यो हाम्रो पहिचान हो ।
यो हाम्रो राष्ट्रिय गौरव हो ।
यो हाम्रो वर्तमान हो र हाम्रो भविष्य पनि हो ।
त्यति मात्र होइन, हिमालय र महासागरबीच गहिरो अन्तरसम्बन्ध छ, र यी दुवैले एकअर्कालाई पुनर्भरण गर्छन् ।
हिमालय पृथ्वीका शीतलता प्रदान गर्ने केन्द्रहरू हुन् ।
तर, दुर्भाग्यवश, यो प्राकृतिक सम्पदा क्रमशः हराउँदै गएको छ ।
हिमनदी पग्लिने विषय नेपालजस्ता मुलुकका लागि केवल वातावरणीय चिन्ताको विषय मात्र होइन; यो हाम्रो विकास, सुरक्षा र अस्तित्वको केन्द्रमै प्रहार गर्ने निरन्तर खतरा हो ।
नेपाल हिमताल विस्फोटजन्य बाढीको विनाशकारी प्रभावबाट पहिले नै पीडित भइसकेको छ । हालै, ८ जुलाईमा, आकाश सफा रहेको दिन रसुवा जिल्लाको ल्हेन्दे नदीमा हिमताल विस्फोटका कारण आएको विनाशकारी बाढीले नेपाल र चीनलाई जोड्ने पुलसमेत बगायो। उक्त बाढीमा करिब २० जनाको ज्यान गएको छ भने ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न यस्ता विपद् पटक–पटक दोहोरिइरहेका छन्, र आगामी दिनमा यस्ता घटना अझ बढ्न सक्नेमा हामी चिन्तित छौँ ।
नेपालमा २,०७० भन्दा बढी हिमताल छन्, जसमध्ये २१ वटा सम्भावित रूपमा जोखिमपूर्ण रहेको पहिचान गरिएको छ । तिनले तल्लो तटीय क्षेत्रका समुदाय, पूर्वाधार र पारिस्थितिक प्रणालीमाथि निम्त्याउने जोखिम निरन्तर बढिरहेको छ ।
हाम्रो कृषि, जलविद्युत्, पर्यटन र जैविक विविधता—जलवायु परिवर्तनप्रति संवेदनशील यी सबै क्षेत्र—क्रमशः बढ्दो जोखिममा पर्दै गएका छन् ।
यी चुनौतीहरू हाम्रो राष्ट्रिय सीमाभित्र मात्र सीमित छैनन्। हाम्रा हिमालमा हुने परिवर्तनको प्रभाव सीमापारि, विभिन्न क्षेत्र र भावी पुस्तासम्म क्रमशः फैलिन्छ ।
महामहिमहरू,
वैज्ञानिक प्रक्षेपणहरू अत्यन्त चिन्ताजनक छन् ।
हाल कायम रहेको कार्बन उत्सर्जनको प्रवृत्ति यथावत् रहेमा यस शताब्दीको अन्त्यसम्म हिमालय क्षेत्रमा रहेका हिमनदीहरूको कुल आयतनको दुईतिहाइसम्म हिस्सा गुम्न सक्ने अनुमान गरिएको छ ।
विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्न सके पनि हिमनदीहरूको एकतिहाइ हिस्सा घट्ने सम्भावना कायम रहनेछ ।
हिमालयबाट उद्गम हुने गङ्गा, ब्रह्मपुत्र, सिन्धु र मेकङलगायतका नदीहरू अर्बौँ मानिसका जीवनरेखा हुन्। हिमनदीहरू खुम्चिँदै र पग्लिँदै जाँदा यी नदी प्रणालीहरूमा पानीको प्रवाह घट्दै जानेछ, जसले पानीको उपलब्धता, कृषि र ऊर्जा सुरक्षामाथि गम्भीर खतरा निम्त्याउनेछ ।
महामहिमहरू,
हाम्रा हिमनदीहरू पग्लिनु केवल बरफ गुमाउनु होइन—यो जीवन, जीविकोपार्जन, सम्पदा र आशा गुमाउनु हो ।
हिमनदीहरूको चीत्कार मौन छैन। यो बुलन्द छ, र अत्यन्तै जरुरी छ ।
यो केवल कदम चाल्नका लागि गरिएको आह्वान होइन; यो न्यायका लागि गरिएको पुकार हो ।
हामीले केही गम्भीर प्रश्नहरूको उत्तर खोज्नैपर्छ:
हिमालयलाई बचाउन विश्व समुदायले कसरी एकजुट भएर काम गर्न सक्छ ?
तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन र जीविकोपार्जन जोगाउन विकास साझेदार तथा जलवायु वित्तसम्बन्धी संस्थाहरूले कसरी योगदान गर्न सक्छन् ?
जोखिम न्यूनीकरण र बदलिँदो वास्तविकतासँग अनुकूलन गर्न अनुसन्धान तथा विकास (R&D) लाई कसरी प्रभावकारी साधनका रूपमा उपयोग गर्न सकिन्छ ?
अझ बढी जोखिममा रहेका भूपरिवेष्टित विकासशील मुलुकहरूले स्रोत, क्षमता र प्रविधिको विद्यमान अन्तर कसरी पूर्ति गर्न सक्छन् ?
यस सन्दर्भमा दक्षिण–दक्षिण तथा त्रिकोणीय सहकार्यलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ ?
महामहिमहरू,
तर, म आशावादी छु ।
र, ठोस तथा समन्वित प्रयासमार्फत हामी हाम्रा हिमालयलाई बचाउन सक्छौँ भन्नेमा म विश्वस्त छु ।
कम्तीमा पनि, हामी हिमनदी पग्लिने गतिलाई घटाउन सक्छौँ।
आउनुहोस्, हामी मिलेर काम गरौँ ।
नेपाल तयार छ—कार्य गर्न, साझेदारी गर्न र नेतृत्व गर्न—ताकि हिमालयको आवाज पग्लिँदो बरफमुनि दबिएर हराएर नजाओस्, बरु विश्वव्यापी जलवायु न्यायका लागि प्रेरणाको स्रोत बन्दै अझ बुलन्द भएर उठोस् ।
धन्यवाद।
[भूपरिवेष्टित विकासशील मुलुकहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन (७ अगस्ट २०२५) मा आयोजित साइड इभेन्टमा तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको वक्तव्यको नेपाली अनुवाद; अवाजा सम्मेलन केन्द्र, तुर्कमेनिस्तान]
